काठमाडौँ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म स्वीकृत कुल वैदेशिक लगानीमध्ये चीनको हिस्सा ४८ प्रतिशत पुगेको छ भने भारतको १७दशमलव९ प्रतिशत र अन्य मुलुकहरूको संयुक्त हिस्सा ३४दशमलव१ प्रतिशत रहेको छ ।
परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ । कुल स्वीकृत परियोजनामध्ये ४५दशमलव५ प्रतिशत चिनियाँ लगानी रहेका छन् भने भारतको हिस्सा ११दशमलव९ प्रतिशत र अन्य मुलुकहरूको ४२दशमलव६ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । हाल विदेशी लगानी स्वचालित (अटोमेटिक) र अप्रुभल गरी दुई रुटमार्फत स्वीकृत हुने व्यवस्था रहेको छ ।
२०८२ फागुनसम्म उद्योग विभागमार्फत अटोमेटिक रुटबाट नौ सय ६८ तथा अप्रुभल रुटबाट छ हजार ९८३ परियोजनासहित कुल सात हजार ९५१ परियोजनामा छ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । स्वीकृत परियोजनाबाट करिब तीन लाख ६२ हजार ५४५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म मात्र ५५४ परियोजनामा ४० अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यसमध्ये अटोमेटिक रुटबाट ३७७ तथा अप्रुभल रुटबाट १७७ परियोजना छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ४२७ उद्योगमा ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । यसले परियोजनाको संख्या बढे पनि लगानी रकम केही घटेको देखाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी २८दशमलव३ प्रतिशत विदेशी लगानी स्वीकृत भएको छ । ऊर्जा क्षेत्रमा २३दशमलव०३ प्रतिशत तथा उत्पादनमूलक क्षेत्रमा १३दशमलव१८ प्रतिशत लगानी रहेको छ ।
खनिज उद्योगमा भने सबैभन्दा कम १दशमलव३ प्रतिशत मात्रै विदेशी लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।