आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिन कांग्रेसको माग
'मिडिया ट्रायल' रोक्न प्रमुख सचेतकको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
793
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। आगामी बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकपछि बिहीवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले यस्तो जानकारी दिएकी हुन्।
विगतमा भौतिक पूर्वाधारमा बढी केन्द्रित हुने परम्परा रहेको उल्लेख गर्दै यसपटकको बजेटले आम नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने कांग्रेसको आधिकारिक धारणा रहेको प्रमुख सचेतक थापाले स्पष्ट पारिन्।
संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा समेत गम्भीर छलफल भएको थियो। सरकारले संसद्मा प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको र प्रधानमन्त्रीले जननिर्वाचित प्रतिनिधिले सोधेका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रमुख सचेतक थापाले आपत्ति जनाइन्।
विगत केही वर्षदेखि सरकार परिवर्तन भइरहँदा बजेट कार्यान्वयन सन्तोषजनक नभएको उनको भनाइ थियो। सरकारसँग झन्डै दुई तिहाइको समर्थन भए पनि त्यसको सही प्रयोग हुन नसकेको टिप्पणी गर्दै उनले विगतमा प्रतिपक्षका सुझाव र आवाजलाई समेट्ने अभ्यास रहे पनि अहिले प्रतिपक्षले खोजेको जवाफसमेत प्रधानमन्त्रीबाट नपाइनु जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीपन भएको आरोप लगाइन्।
यस्तै, गणतन्त्र दिवस जस्तो गरिमामय अवसरमा सरकार प्रमुखको भूमिका र उपस्थितिलाई लिएर बाहिर आएका प्रश्नहरूमाथि पनि संसदीय दलको बैठकमा छलफल भएको उनले जानकारी दिइन्।
राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन र त्यसमा विभिन्न राजनीतिक दलका नेताहरूको नाम मुछिएको प्रसङ्गमा बोल्दै प्रमुख सचेतक थापाले कानुनभन्दा माथि कोही नहुने स्पष्ट पारिन्। कानुनसम्मत जोसुकैमाथि कारबाही हुँदा कांग्रेसले त्यसलाई स्वीकार गर्ने तर तथ्य र सत्य पत्ता लगाएर मात्र अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। यस क्रममा उनले पहिले समात्ने र त्यसपछि अनुसन्धान गर्ने खालको 'मिडिया ट्रायल' को प्रवृत्ति भने बन्द हुनुपर्नेमा जोड दिइन्।
कांग्रेस संसदीय दलको बैठकले दलभित्रका रिक्त पदहरूलाई पूर्णता दिने र विषयगत समितिहरूमा सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउन संयोजकहरू तोक्ने निर्णय गरेको छ। पार्टीभित्र देखिएका केही असन्तुष्टिहरू पार्टीको आन्तरिक मामिला भएको र संसदीय दलमा सबै सदस्यहरू एकजुट भएर जनताका मुद्दा उठाउन लागिपरेको दाबी प्रमुख सचेतक थापाले गरिन्।