arrow

भारी वर्षासँगै घट्यो तापक्रम: धनगढीमा सबैभन्दा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
rain-kathmandu-out-too-82-12-25 (1).jpg

काठमाडौँ । पछिल्लो दुई दिनदेखि मौसममा थप बदली भई देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। देशभर नै मौसम बदली भएका कारण आज तापक्रममा उल्लेख्य रूपमा गिरावट आएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन धेरै भारी वर्षाको नजिक हो। यसैगरी मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि ५० मिलिमिटरभन्दा माथि भारी वर्षा भएको छ भने बाँकेमा भारी वर्षा नजिक अर्थात् ४८ मिलिमिटर पानी परेको छ। पछिल्लो एक घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको विभागले जनाएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार तराई क्षेत्रमा मङ्गलबारसम्मै मौसम बदली रहने हुनाले गर्मी घट्नेछ। उनले केही स्थानमा भारीसम्मै वर्षा हुने सम्भावना रहेको समेत जानकारी दिएका छन्। हाल प्रि–मनसुनको समय भएकाले हावाहुरी र चट्याङको समेत जोखिम रहने हुँदा आवश्यक सावधानी अपनाउन मौसमविद् पुडासैनीले अनुरोध गरेका छन्।

विभागमा प्राप्त अभिलेखअनुसार आज नेपालको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियसभन्दा तलै सीमित रहेको छ। आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३५.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। 

देशका अन्य प्रमुख सहर तथा विमानस्थलहरूको तापक्रम हेर्दा चन्द्रगढी विमानस्थलमा ३४.४ डिग्री, भैरहवामा ३४ डिग्री, नेपालगञ्जमा ३३.९ डिग्री, धरानमा ३३.७ डिग्री, विराटनगरमा ३३.२ डिग्री र जनकपुरमा ३३ डिग्री सेल्सियस पुगेको छ। 

काठमाडौँको अधिकतम तापक्रम २५.३ डिग्री सेल्सियस रहेको छ। यसअघि यो वर्ष काठमाडौँको तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको थियो भने नेपालगञ्जलगायत केही जिल्लाहरूमा तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ