देशका विभिन्न भूभागमा बदली, हिमाली र पहाडी भेगमा वर्षा तथा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
715
Shares
काठमाडौँ ।आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई भू-भागमा भने रातिको मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी राति सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।