प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति 'देशद्रोही', २४ घण्टाभित्र प्रमाण सार्वजनिक गर्न सांसदहरूको माग
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
850
Shares
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र साहले आइतबार प्रतिनिधि सभाको बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै कडा आपत्ति जनाएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको भनाइ मुलुकको सार्वभौमिकता विपरीत रहेको बताएका छन्।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गरे। नेपाल पक्षबाट भारतको कुन–कुन क्षेत्रमा भूमि अतिक्रमण भएको हो भन्ने तथ्य तत्काल बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने र यस अभिव्यक्तिको छानबिन गर्न समिति गठन गरिनुपर्ने माग उनले सभासमक्ष राखे। उनले भने, “नेपाल सरकारले भारतको कुन कुन ठाउँमा जग्गा मिचेको छ २४ घण्टाभित्र जानकारी गराउन अनुरोध गर्न चाहन्छु। यदि उहाँले सो कुरा प्रमाणित गर्न सक्नु भएन भने सार्वजनिक रूपमा माफी माग्नुपर्छ।” साथै, प्रधानमन्त्री 'जेनजी' पुस्ताको प्रतिनिधि पात्र समेत भएकाले सो पुस्ताका समस्या समाधानका लागि बजेट र नीति तथा कार्यक्रममार्फत के कस्ता प्रयास गरिएका छन् भन्नेबारे पनि उनले चासो राखे ।
नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री साहले संसद्को रोष्ट्रमबाट भारतको वकालत गरेको भन्दै आक्रोश व्यक्त गरिन्। प्रधानमन्त्रीले कुन आधारमा नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको अभिव्यक्ति दिएको भनी उनले प्रश्न उठाइन्। प्रधानमन्त्री साहको सीमासम्बन्धी उक्त अभिव्यक्ति देशद्रोही भएको आरोप लगाउँदै उनले भनिन्, “इतिहासमा पहिलो पटक नेपालको संसद्बाट भारतको वकालत गरेको सुनियो। प्रधानमन्त्री वालेन्द्र साहले कुन आधारमा उक्त धारणा व्यक्त गर्नुभएको हो? स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो देशद्रोही काम हो।”
नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको यस अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शिर निहुरिएको र लज्जाबोध भएको टिप्पणी गरिन्। नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले मुलुकको हितविरोधी अभिव्यक्ति स्वीकार्य नहुने उनले स्पष्ट पारिन्। इतिहासका विभिन्न दस्तावेजहरू साक्षी रहेको उल्लेख गर्दै उनले भारतले नेपालका करिब ६२ स्थानमा भूमि अतिक्रमण गरी सुरक्षाकर्मी तैनाथ गरेको तथ्य समेत स्मरण गराइन्।
सांसद झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो कुरा आउनुलाई सामान्य रूपमा लिन नसकिने बताइन्। उनले भनिन्, “रास्वपाका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री वालेन्द्र साहले कन्सर्टमा आएजस्तै प्रतिनिधि सभामा बिनासूचना, प्रतिनिधि सभा नियमावलीको विरुद्धमा जे कुरा बोल्नुभएको छ, त्यो जिब्रो चिप्लिएर वा असावधानीले बोलिएको हो भन्ने हामीलाई लाग्दैन। यसको पछाडि केही गहिरो कारण छ र स्वाभिमानी नेपालीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।”
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको र दुवै पक्षबाट सीमा अतिक्रमण भएको जानकारीमा आएको दाबी गरेका थिए। उनले संसद्मा भनेका थिए, “भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ।”
प्रधानमन्त्री साहको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् चल्न नदिने अडान राखिरहेका छन् भने प्रधानमन्त्रीले नागरिकसमक्ष माफी माग्दै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरिरहेका छन्।