वर्षाले तापक्रम घटे पनि अब विस्तारै फेरि गर्मी बढ्ने, तातो दिनको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
658
Shares
काठमाडौँ । विभिन्न मौसमी प्रणालीका कारण पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भई तापक्रम घटे पनि अब विस्तारै फेरि गर्मी बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि नचढेकोमा अब भने तापक्रम विस्तारै उकालो लाग्नेछ। आजैबाट वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर (लु/हिट वेभ) बढ्ने अनुमान गरिएको छ। आज भैरहवाको अधिकतम तापक्रम ३७।५ डिग्री सेल्सियस पुगेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन (हट डे) हुने सम्भावना छ। पछिल्लो २४ घण्टामा दैलेख लगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा वर्षा रोकिएको छ र पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ।
देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्ने देखिन्छ। हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।
बुधबार पनि देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ। हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ। साथै, मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको भन्दै विभागले आज साँझ बुलेटिन जारी गरेर सचेत गराएको छ।