कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा बैठक
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
663
Shares
काठमाडौं । राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी भोलि बुधबार दिउँसो १२:१५ बजे बस्नेगरी स्थगित भएको छ। आजको बैठक सुरु हुनेबित्तिकै सांसदहरूले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका सम्बन्धमा दिएको वक्तव्यप्रति असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राखेका थिए।
सभाध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरे पनि सांसदहरूले असहमति प्रकट गरिरहे।
बैठकको सुरुमा सांसद पदमबहादुर परियारले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा आएर कुन ठाउँमा कति भूमि मिचिएको हो भन्ने कुरा प्रमाणसहित जानकारी दिनुपर्ने माग गरे। अर्का सांसद घनश्याम रिजालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाए। यसैगरी, सांसद रोशनी मेचेले नेपालले अहिलेसम्म एक इन्च पनि सीमा नमिचेको जिकिर गरिन्।
सांसद महन्त ठाकुरले भारतको केही जग्गा उपभोग गरेको भए पनि त्यसलाई मिचिएको भन्न नमिल्ने धारणा राखे भने सांसद तुलप्रसाद विश्वकर्माले ‘जमिन उपभोग गर्नु’ र ‘सीमा मिच्नु’ नितान्त फरक कुरा भएकाले यसबारेमा थप प्रष्ट पार्नुपर्ने बताए। सांसदहरूले लामो समयदेखि लिम्पियाधुरा र लिपुलेकमा भारतीय सेना राखेर नेपालको भूमि भारतीय पक्षले अतिक्रमण गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले नेपाल–भारत सीमा समस्या समाधानमा थप जटिलता ल्याउने तर्क गरे।
सांसदहरूको अवरोधका कारण आज राष्ट्रिय सभामा तय भएका महत्त्वपूर्ण कार्यसूचीहरू प्रभावित हुन पुगे। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको थियो।
त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत तय भएको थियो।