मनसुन शुरू हुन तीन हप्ता बाँकी, देशभर 'द्रुत प्रतिकार्य टोली' तयारी अवस्थामा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
841
Shares
काठमाडौँ । मनसुन शुरू हुन अब तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या र संक्रामक रोग फैलिन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विशेष पूर्वतयारी थालेको छ। मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली (र्यापिड रेस्पोन्स टिम) लाई तयारी अवस्थामा राखिएको जनाएको छ।
मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य चुनौतीको सामना गर्न विशेष कार्ययोजना बनाइ कार्यान्वयनको चरणमा लगिएको छ। बढ्दो तापक्रम, उच्च आर्द्रता र निरन्तरको वर्षाका कारण खाद्य विषाक्तता (फूड प्वाइजनिङ), पानीजन्य र किटजन्य संक्रामक रोगहरू फैलिने जोखिम उच्च रहने हुनाले सरकारले प्रतिकार्यका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा आपत्कालीन उपकरणको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
मनसुनको समयमा बाढी तथा डुबानका कारण खानेपानीका स्रोतहरू दूषित हुन सक्ने र सरसफाइ व्यवस्थापन प्रभावित हुने खतरालाई मध्यनजर गर्दै राष्ट्रिय स्तरमै मनसुन पूर्वतयारी कार्ययोजना लागू भइसकेको छ। आपत्कालीन स्वास्थ्य सेवाका लागि विभिन्न अस्पतालहरूसँग समन्वय र सहकार्य भइरहेको छ भने स्थानीय तहहरूसँग मिलेर जनचेतना अभिवृद्धि अभियान पनि चलाइएको छ।
सहायक प्रवक्ता अधिकारीले नागरिकहरूलाई आफ्नो व्यक्तिगत र समुदायको स्वच्छतामा विशेष ध्यान दिन, लामखुट्टेको वृद्धि विकास हुन नदिन र पोषिलो खानेकुरा खान आग्रह गरेका छन्। साथै, संक्रमण र रोगको जोखिमबाट बच्नका लागि उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न र कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।