काठमाडौँ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशैभर पार्टीको संरचना र सांगठनिक जीवनलाई व्यापक रूपमा पुनर्गठन गर्ने तयारी थालेको छ। निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ को रूपमा स्वीकार गर्दै एमालेले यसलाई अस्थायी असफलतामा सीमित राखेर पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने रणनीति अन्तर्गत पुनर्गठनको बृहत् गृहकार्य सुरु गरेको हो।
पार्टीका उपाध्यक्ष विष्णु पौडेलका अनुसार एमाले हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको छ। निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र बाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको उल्लेख गर्दै उनले सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने औपचारिक निर्णय नै गरिसकेको जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त सचिवालय बैठकले संगठन पुनर्गठनको तयारीलाई मूर्तरूप दिन एउटा विशेष कार्यदल समेत गठन गरेको छ। यस कार्यदलले निर्वाचनको विस्तृत समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनसम्बन्धी ठोस र व्यावहारिक प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको छ। कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा नै एमालेले आफ्नो आगामी रणनीति र सांगठनिक सुदृढीकरणको मार्गचित्र तय गर्नेछ।
जनताबाट अनुमोदित भएका तथा प्रतिस्पर्धामा श्रेष्ठता आर्जन गर्ने नेता–कार्यकर्ताको पार्टीका रूपमा एमालेलाई संस्थागत गरिए पनि यस निर्वाचनमा गम्भीर धक्का लागेको नेतृत्वले स्वीकार गरेको छ। पराजयका आन्तरिक-बाह्य एवं देशभित्र र बाहिरका सबै कारणहरूको समग्र समीक्षा गरेर यथोचित शिक्षा लिने एमालेको तयारी छ।
वर्तमान कार्यशैलीमा आमूल परिवर्तन गरी पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनः स्थापित गर्न सांगठनिक सुदृढीकरण र पुनर्गठन अपरिहार्य रहेको भन्दै एमालेले यस प्रक्रियालाई तीव्र रूपमा अघि बढाएको छ।