आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम र चरम मौसमी घटना बढ्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
251
Shares
काठमाडौँ । विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले प्रशान्त महासागरको उष्णकटिबंधीय क्षेत्रमा एल निनोको अवस्था तीव्र रूपमा विकसित भइरहेको भन्दै चेतावनी जारी गरेको छ। यस प्राकृतिक मौसमी प्रणालीका कारण आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम बढ्ने र वर्षाको ढाँचामा गम्भीर परिवर्तन भई चरम मौसमी घटनाहरूको जोखिम उच्च रहने संगठनले जनाएको छ।
जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा डब्ल्युएमओका महासचिव सेलेस्टे साउलोले सम्भावित शक्तिशाली एल निनो इभेन्टका लागि विश्व समुदायले तत्काल पूर्वतयारी गर्न आवश्यक रहेको बताएका छन्। डब्ल्युएमओको पछिल्लो अद्यावधिक प्रतिवेदन अनुसार सन् २०२६ को जुनदेखि अगस्ट महिनाको बिचमा एल निनो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको छ भने सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा यो सम्भावना ९० प्रतिशतसम्म पुग्ने विशेषज्ञहरूको अनुमान छ।
महासचिव साउलोका अनुसार यसअघि सन् २०२३–२०२४ मा देखिएको एल निनो इतिहासकै पाँच शक्तिशाली घटनाहरूमध्ये एक थियो, जसले सन् २०२४ मा विश्वव्यापी तापक्रमलाई नयाँ रेकर्डमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। सम्भावित जनधनको क्षति कम गर्न र एल निनोको प्रभावलाई न्यूनीकरण गर्न मौसमी पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली अत्यन्त महत्त्वपूर्ण हुने भएकाले डब्ल्युएमओले आगामी महिनाहरूमा मौसमी अवस्थाको सूक्ष्म अनुगमन गर्ने भएको छ। विभिन्न मुलुकका सरकार, मानवीय सहायता निकाय र जलवायु–संवेदनशील क्षेत्रहरूलाई समयमै सूचित गर्न यो कदम चालिएको हो।
यसै सन्दर्भमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक भिडियो सन्देश जारी गर्दै एल निनोले बढ्दो विश्वव्यापी तापक्रमको समस्यालाई आगोमा घिउ थपे झैँ थप भयावह बनाउने उल्लेख गरेका छन्। वर्तमान जलवायु संकटको प्रभावकारी समाधानका लागि जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्न, नवीकरणीय ऊर्जाको विस्तारलाई तीव्रता दिन र विश्वका सबै नागरिकका लागि प्रारम्भिक चेतावनी प्रणाली सुनिश्चित गर्न महासचिव गुटेरेसले विश्व समुदायसँग जोडदार आग्रह गरेका छन्।