arrow

‘निलो क्रान्ति’ को लहर टिक्दैन : कुलमान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
kulman-ghising-22-02.jpg

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन रूपमा टिकाउ नहुने दाबी गरेका छन्।

उनले नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ नै अन्तिम र भरपर्दो विकल्प भएको बताए।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले नेपालको राजनीतिक इतिहासमा विभिन्न नामका क्रान्तिहरू भए पनि अबको आवश्यकता आर्थिक तथा वातावरणीय रूपान्तरणमा आधारित हरित क्रान्ति भएको बताए।

उनका अनुसार उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको छ।

उनले विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङका क्रान्तिसँग तुलना गर्दै श्वेत क्रान्ति, रातो क्रान्ति र पछिल्लो समय चर्चामा आएको निलो क्रान्तिको चर्चा गरे।

तर नेपालको दिगो विकास, संस्थागत सुधार र राजनीतिक स्थायित्वका लागि हरित क्रान्ति आवश्यक रहेको उनको भनाइ थियो।

घिसिङले पार्टीको हरियो झण्डा र चुनाव चिह्न ‘चिम’ ले ऊर्जा, शक्ति र सकारात्मक परिवर्तनको सन्देश दिने बताए।

उनले हरित क्रान्तिको आधार सुशासन भएको उल्लेख गर्दै सुशासनबिना कुनै पनि विकास दिगो हुन नसक्ने धारणा राखे।

उनका अनुसार जलस्रोतको अधिकतम उपयोग गर्दै जलविद्युत् उत्पादन, हरित हाइड्रोजन तथा हरित युरिया उत्पादनलाई उज्यालो नेपाल पार्टीले प्राथमिकतामा राखेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा हरित हाइड्रोजन र हरित युरियासम्बन्धी विषय समेटेको उल्लेख गर्दै उनले यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरे।

घिसिङले ती विषयहरू आफ्नो पार्टीले यसअघि नै घोषणापत्रमा समावेश गरेको स्मरण गराउँदै हरित अर्थतन्त्र, स्वच्छ ऊर्जा र सुशासनमार्फत देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

उज्यालो नेपाल पार्टीले आगामी राजनीतिक अभियान हरित क्रान्ति, सुशासन र दिगो विकासको एजेन्डामा केन्द्रित रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ