arrow

‘नेपाली ब्रो’ लाई कारबाहीको माग गर्दै बालाजु वृत्तमा आफन्तको प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
balaju-police.jpg

काठमाडौँ । ‘नेपाली ब्रो’ नामले चिनिने चर्चित टिकटकर कुमार थापा मगरले आफ्नी पत्नी ईश्वरी भुजेलको निर्मम हत्या गरेपछि दोषीलाई कानुनी कारबाहीको माग गर्दै आफन्त र शुभेच्छुकहरूले प्रहरी वृत्त बालाजु अगाडि प्रदर्शन गरेका छन्।

शुक्रबार बेलुकी काठमाडौँको तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार ईश्वरीमाथि कुमारले फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको त्रिवि शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल), महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो।

शनिबार दिउँसो मृतकका परिवारका सदस्य, आफन्त र ठुलो सङ्ख्यामा उपस्थित शुभेच्छुकहरूले बालाजु प्रहरी कार्यालय अगाडि भेला भई हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।

पीडित परिवारलाई न्याय दिलाउन र प्रहरी अनुसन्धानलाई दबाबमुक्त बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटी र पूर्वगृहमन्त्री सुधन गुरुङ समेत बालाजु वृत्त पुगेका थिए।

नेपाली सेनामा कार्यरत ईश्वरीको हत्याप्रति गम्भीर दुःख व्यक्त गर्दै पूर्वगृहमन्त्री गुरुङले घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरे। उनले मृतक ईश्वरीकी आमा र दिदीलाई भेटेर घटनाबारे विस्तृत जानकारी लिँदै पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाए।

प्रहरीका अनुसार ४२ वर्षीय कुमार र ईश्वरीबिच केही समयदेखि पारिवारिक विवाद चल्दै आएको थियो र उनीहरू सम्बन्ध विच्छेद (डिभोर्स) को अन्तिम तयारीमा थिए। आफूलाई सामाजिक सञ्जालमा रेस्लर र फाइटरका रूपमा समेत चिनाउने कुमारलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ