काठमाडौँ । बाढी र लेदोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको बाढीले उक्त सडकखण्ड अवरुद्ध पारेको थियो।
यही जेठ २२ गते (शुक्रबार) साँझ परेको भारी वर्षासँगै पङ्खुखोलामा आएको बाढी र माथिबाट बगेर आएको लेदोले करिब २५ मिटर सडक पूर्ण रूपमा पुरेको थियो। अवरुद्ध सडक खुलाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेकको टोली, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीय बासिन्दाको संयुक्त एवं निरन्तरको प्रयासपछि सडक पुनः सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार सडक सुचारु भएसँगै भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँका लागि छुटेका र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाँदै गरेका बस, जिप, सुमो तथा मोटरसाइकललगायतका सम्पूर्ण सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्। सडक खुलेसँगै बीच बाटोमै अलपत्र परेका यात्रुहरूले राहत महसुस गरेका छन्।
पङ्खुखोलामा विसं २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी ठेक्का सम्झौता भएको थियो। तर, लोकमार्ग कालोपत्र भइसकेको लामो समय बितिसक्दा पनि निर्माण कम्पनी (ठेकेदार) को चरम लापरवाहीका कारण पुल हालसम्म अलपत्र अवस्थामा छ। पक्की पुल नबन्दा हरेक वर्ष वर्षायाममा यात्रु तथा सवारीसाधनहरूले यसैगरी खोलाबाटै जोखिमपूर्ण रूपमा वारपार गर्नुपर्ने बाध्यता कायम छ।