दशकौँ लामो उपाधि खडेरी तोड्ने डच टोलीको लक्ष्य, जापान र स्विडेन बन्न सक्छन् चुनौती
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
464
Shares
काठमाडौँ । विश्व फुटबलको पावरहाउस मानिने नेदरल्याण्ड्सले उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ मा आफ्नो दशकौँ लामो उपाधि प्रतीक्षाको अन्त्य गर्ने लक्ष्य राखेको छ। तीन पटक विश्वकपको फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउनु परेको डच टोलीका लागि यो विश्वकप इतिहास बदल्ने अर्को ठुलो अवसर बनेको छ।
यसपटक नेदरल्याण्ड्स विश्वकपको समूह ‘एफ’ मा रहेको छ, जहाँ उसले एसियाली विशालु जापान, युरोपेली प्रतिद्वन्द्वी स्विडेन र अफ्रिकी बलियो टोली ट्युनिसियाको सामना गर्नेछ। कागजमा हेर्दा डच टोली समूह विजेताको प्रमुख दाबेदार देखिए पनि अन्य तीन टोलीले उसलाई सहजै बाटो छाड्ने देखिँदैन।
सन् १९७४, १९७८ र २०१० मा फाइनल पुगेर पनि ट्रफी चुम्न नसकेको नेदरल्यान्ड्स यसपटक अनुभवी प्रशिक्षक रोनाल्ड कोम्यानको रणनीतिमा मैदान उत्रनेछ। कप्तान भर्जिल भान डाइक, मिडफिल्डर रायन ग्राभेनबर्च, टिजानी रेन्डर्स र फरवार्ड कोडी गाक्पोजस्ता विश्वस्तरीय स्टार खेलाडीहरूको समिश्रणले टोली सन्तुलित र आक्रामक देखिएको छ।
विश्वकपमा लगातार आठौँ पटक सहभागिता जनाउन लागेको जापान एसियाकै सबैभन्दा सफल र अनुशासित टोली हो। विश्वकप २०२६ का लागि सबैभन्दा पहिले छनोट हुन सफल जापानले चार वर्षअघि कतार विश्वकपमा जर्मनी र स्पेनजस्ता पूर्व विश्व विजेताहरूलाई हराएर विश्वलाई नै चकित पारेको थियो। युरोपका शीर्ष लिगहरूमा खेलिरहेका खेलाडीहरूको अनुभवले भरिएको जापान यसपटक अन्तिम १६ को इतिहासलाई तोड्दै अगाडि बढ्ने लक्ष्यमा छ।
युरोपेली छनोटमा कडा सङ्घर्ष गरेपछि नेशन्स लिगको प्रदर्शनका आधारमा प्लेअफ खेल्दै स्विडेनले युक्रेन र पोल्यान्डलाई पाखा लगाएर विश्वकपको टिकट काटेको हो। प्रशिक्षक ग्राहम पटरको नेतृत्वमा रहेको टोलीमा एलेक्जेन्डर इसाक, भिक्टर ग्योकरेस, लुकास बर्गभाल र एन्थोनी इलाङ्गाजस्ता युवा तथा खतरनाक खेलाडीहरू छन्। स्विडेन सन् १९९४ मा अमेरिकाकै भूमिमा भएको विश्वकपमा सेमिफाइनल पुगेको सुखद इतिहास दोहोर्याउन चाहन्छ।
विश्वकपमा सातौँ पटक सहभागिता जनाउन लागेको ट्युनिसियाको मुख्य उद्देश्य पहिलो पटक समूह चरण पार गर्नु हो। कतार विश्वकपमा फ्रान्सजस्तो बलियो टोलीलाई हराए पनि नकआउट पुग्न नसकेको ट्युनिसियाले यसपटक नयाँ प्रशिक्षक साब्री लामौचीलाई जिम्मेवारी सुम्पेको छ। युवा खेलाडी खालिल अयारी टोलीका प्रमुख हतियार हुन्।
समग्रमा, समूह ‘एफ’ मा नेदरल्याण्ड्स बलियो टोलीका रूपमा देखिए पनि जापानको काउन्टर-अट्याकिङ खेल, स्विडेनको युरोपेली अनुभव र ट्युनिसियाको रक्षात्मक एवं सङ्घर्षशील शैलीले यो समूहलाई विश्वकप २०२६ कै सबैभन्दा प्रतिस्पर्धात्मक र रोमान्चक समूहहरूमध्ये एक बनाएको छ।