arrow

सर्वदलीय बैठकपछि राजेन्द्र लिङ्देनले के भने ? [भिडियो]

सरकारको गल्तीको भारी देशले बोक्न सक्दैन, वैदेशिक मामिलामा केटाकेटीपन नदेखाउन रविलाई लिङ्देनको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
rajendra-lingden-2-25.jpg

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक मामिला र कूटनीतिको सवालमा गम्भीर र संवेदनशील बन्न सरकार तथा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्।

रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणलगत्तै संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सोमबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले उक्त असन्तुष्टि र सुझाव व्यक्त गरेका हुन्।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साह (वालेन) ले संसद्मा सीमा विवादबारे दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा ‘विगतको भारी बोक्दैनौँ’ भनी दिएको कूटनीतिक अभिव्यक्ति अपरिपक्व र गैरजिम्मेवारपूर्ण भएको जिकिर गरे। यस्ता हलुका टिप्पणीले नेपालको ऐतिहासिक प्रमाण र कूटनीतिक अडानलाई कमजोर बनाउने उनको तर्क छ।

सञ्चारकर्मीहरूसँग बोल्दै लिङदेनले भने, "सरकारले गर्ने गलत क्रियाकलापको सिकार सिङ्गो देश हुनुपर्छ। त्यसैले कूटनीतिमा अलिकति परिपक्व व्यवहार देखाइयोस्। चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा संसद्मा दिनुभएको मन्तव्य होस्, या रास्वपा सभापतिले भारतमा गएर ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्नुभएको कुरा होस्, यसले धेरै गम्भीर अर्थ राख्छ।"

उनले अगाडि थपे, "विगतको भारी बोक्दैनौँ भन्नुको अर्थ के हो? के विगतमा भएका सबै कुरा नराम्रा थिए? हामीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो भनेर संसद्बाट सर्वसम्मतिले नक्सा पारित गरी संविधानको अनुसूचीमै समेटिसकेका छौँ। अब त्यो ऐतिहासिक प्रमाण पनि 'बोक्दिनँ' भन्न खोजिएको हो? यसले त ती भू-भागका विषयमा फेरि नयाँ ढङ्गले छलफल गर्न सकिन्छ भन्ने खालको आशय दिन्छ र हाम्रो स्थापित प्रमाणलाई कमजोर बनाउँछ। त्यसैले वैदेशिक सवालमा संवेदनशीलता अपनाइयोस्।"

प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरूको अदूरदर्शी अभिव्यक्तिको मूल्य देशले चुकाउनुपर्ने भन्दै अध्यक्ष लिङदेनले राष्ट्रिय स्वार्थका मुद्दामा होसियार रहन सचेत गराए। यद्यपि, रास्वपाले जनमतमार्फत हासिल गरेको जित र सभापति लामिछानेले भारत भ्रमणका क्रममा पाएको विशेष स्वागतलाई नेपालको हितमा 'अवसर' का रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। सरकारले जनताले दिएको मत र विश्वासलाई राष्ट्रिय हितको रक्षा र विकासका लागि सही ढङ्गले उपयोग गर्नुपर्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ