अमेरिकाले इरानसँग गर्ने सम्झौता इजरायलले मान्नैपर्छ, नेतान्याहूसँग अर्को विकल्प छैन : ट्रम्प
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
660
Shares
काठमाडौँ । मध्यपूर्वमा इरान र इजरायलबीचको सैन्य टकराव फेरि खतरनाक मोडमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमाथि ठुलो राजनीतिक दबाब सिर्जना गरेका छन्। इरानले पाँच महिनाअघिको युद्धविराम भङ्ग गर्दै इजरायलमाथि सिधा क्षेप्यास्त्र प्रहार गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको निर्णय स्वीकार गर्नुपर्ने स्पष्ट चेतावनी दिएका हुन्।
‘फाइनान्सियल टाइम्स’ सँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले नै निर्धारण गर्ने स्पष्ट सङ्केत दिए। उनले नेतान्याहूसँग ‘अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहने’ उल्लेख गर्दै इजरायलको रणनीतिक निर्णय प्रक्रियामा निर्णायक भूमिका अमेरिकाकै रहने बलियो दाबी समेत गरे। हालैको आक्रमणले इरानसँगको अमेरिकी वार्ता प्रक्रियामा कुनै असर नगर्ने र कूटनीतिक सम्झौताको ढोका सधैँ खुला रहने ट्रम्पको भनाइ छ।
इरानले सोमबार इजरायलतर्फ कयौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि यो नयाँ तनाव सुरु भएको हो। गत अप्रिल महिनामा भएको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र सबैभन्दा गम्भीर आक्रमण हो।
आक्रमण लगत्तै इजरायली रक्षा बल (आइडीएफ) र वायु सेना (आइएएफ) ले आफ्नो अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएर क्षेप्यास्त्रहरूलाई आकाशमै ध्वस्त पारेका थिए। तेल अभिभसहित इजरायलका विभिन्न भागमा खतराको साइरन बजाइएको थियो भने नागरिकहरूलाई मोबाइल सन्देशमार्फत तत्काल बङ्कर र सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो। हालसम्म यो आक्रमणबाट कुनै मानवीय वा ठुलो भौतिक क्षतिको विवरण नआए पनि केही स्थानमा क्षेप्यास्त्रका अवशेष खस्दा सामान्य क्षति भएको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ ले एक उच्च अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूबीच आइतबार राति नै टेलिफोन वार्ता भएको थियो। उक्त संवादमा ट्रम्पले इरानको आक्रमणको बदला लिन इजरायलले तत्काल कुनै पनि जवाफी कारबाही वा सैन्य प्रतिकार नगर्न नेतान्याहूलाई कडा आग्रह गरेका थिए।
यो घटनाको ठीक अघिल्लो दिन आइतबार मात्रै इजरायलले लेबनानको राजधानी बेरुतस्थित दहियाह क्षेत्रमा रहेको हिज्बुल्लाहको मुख्यालयलाई लक्षित गरी शक्तिशाली हवाई आक्रमण गरेको थियो। हिज्बुल्लाहले आफ्नो क्षेत्रबाट इजरायलतर्फ गोली प्रहार गरेपछि आफूहरूले जवाफी कारबाही गरेको इजरायलको दाबी छ।
इरानको पछिल्लो क्षेप्यास्त्र प्रहार र त्यसको लगत्तै आएको राष्ट्रपति ट्रम्पको कडा कूटनीतिक अभिव्यक्तिले मध्यपूर्वको सुरक्षा समीकरणलाई थप जटिल बनाएको छ। एकातर्फ ह्वाइट हाउस इरानसँग दीर्घकालीन सम्भावित सम्झौता अघि बढाउने रणनीतिमा देखिन्छ भने अर्कोतर्फ आफ्नो सबैभन्दा भरपर्दो साझेदार इजरायललाई युद्धमा थप आक्रामक हुनबाट रोक्ने ठुलो दबाबमा अमेरिका परेको छ।