arrow
ADVERTISEMENT

लेखा समितिमा अर्थमन्त्री

भन्सार दर र ‘गायब १६ पाना’को विवादमा यसो भन्छन् अर्थमन्त्री वाग्ले

दस्तावेजबाट पाना गायब पारिएको भन्ने समाचार भ्रामक, त्यो माइक्रोसफ्ट वर्डको प्राविधिक कुरा मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
swarnim-wagle-at-samiti.jpg

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र मूल दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू पूर्ण रूपमा भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पारेका छन्। बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न सामान्य विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको दाबी गरे।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको बताए। उनले रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको उल्लेख गर्दै यो विशुद्ध मानवीय र प्राविधिक विषय भएको प्रस्ट पारे। अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको भन्दै उनले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको कडा खण्डन गरे।

प्रतिवेदनबाट १६ पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा अर्थमन्त्री वाग्लेले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे विस्तृत जानकारी दिए।

उनले भने: "४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलमतन्काइदियो भने पानाको सङ्ख्या बढेर ५०० पुग्न सक्छ वा घटाउँदा घट्न सक्छ। कन्टेन्टमा एउटा थोप्लो, एउटा कमा वा पूर्णविराम पनि परिवर्तन भएको छैन। त्रुटिसहित यहाँहरूको हातमा परेपछि हामीले एउटा थोप्लो पनि चलाएका छैनौँ। आम जनतालाई केही समय भ्रमित पार्न सकिएला, तर सत्य लुक्दैन।"

४ सय ५० भन्दा बढी पानाको ठुलो डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबढ गर्दा पनि समग्र पानाको सङ्ख्यामा उल्लेख्य परिवर्तन देखिन सक्ने उनको भनाइ थियो।
सञ्चारमाध्यममा आएका समाचारहरूले हप्ताभरि यस विषयलाई उचालेर भ्रम सिर्जना गरेको र जसका कारण सम्मानित सांसदहरूमा समेत संशय पैदा भएको उनले उल्लेख गरे। सार्वभौम संसद्मा विधेयक पेस गरिसकेपछि त्यसमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको उनले दृढताका साथ व्यक्त गरे।

यो विवादलाई उनले ‘चियाको कपमा तुफान’ ल्याउने निरर्थक प्रयासको संज्ञा दिँदै आफू यसको डटेर सामना गर्न तयार रहेको बताए। राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नबुझ्न आग्रह गर्दै उनले कुनै पनि विषयमा थप शङ्का भएमा आफू त्यसलाई सदैव स्पष्ट पार्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ