बजेट ‘खुट्टाको घाउ निको नबनाउने भन्दा नयाँ जुत्ता किन्ने’ जस्तो आयो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
223
Shares
काठमाडौँ। प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकका वास्तविक समस्या समाधानतर्फ केन्द्रित नभएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको बजेटलाई “खुट्टाको घाउ निको पार्नेभन्दा नयाँ जुत्ता किन्ने” शैलीको भन्दै कटाक्ष गरेका हुन्।
उनले मुलुकको आर्थिक अवस्थालाई खुट्टाको घाउसँग तुलना गर्दै पहिले समस्या समाधान गर्नुपर्नेमा सरकारले देखावटी विकास र नयाँ योजनामा बढी ध्यान दिएको टिप्पणी गरे।
राईले नेपालमा पेट्रोलियम पदार्थको मूल्य विश्वमै महँगो रहेको उल्लेख गर्दै त्यसलाई घटाउने स्पष्ट नीति बजेटमा नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न सरकार असफल भएको उनको भनाइ छ।
उनले सरकारलाई व्यापारीको भूमिका लिन नहुने भन्दै आवास निर्माण गरेर बिक्री गर्ने जस्ता कार्यक्रमप्रति आपत्ति जनाए। सरकार शान्ति, सुशासन र सेवा प्रवाह गर्ने निकाय भएको उल्लेख गर्दै राईले रियल इस्टेट जस्तो गतिविधिमा संलग्न हुन नहुने तर्क गरे।
उनले बजेटले वास्तविक समस्या समाधान गर्ने भन्दा पनि नयाँ संरचना र परियोजनामा ध्यान दिएको भन्दै नीति पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।