अब नेपाली कला र सिर्जनाको पालो हो: पर्यटनमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
154
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउन अतुलनीय योगदान पुर्याएको बताएका छन्। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कला र कलाकारहरूले विश्वस्तरमा देशको गरिमा र साख बढाएको दाबी गरे।
अविनाश विक्रम शाहको लघु चलचित्र ‘लोरी’ ले प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पुरस्कार प्राप्त गरेको ऐतिहासिक सन्दर्भलाई जोड्दै मन्त्री पौडेलले नेपाली सिनेमाले ठुलो फड्को मारिरहेको उल्लेख गरे। उनले नेपाललाई विश्वमाझ चिनाउन सधैँ सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको भन्दै अब नेपाली कला, सिर्जना र बौद्धिकताका माध्यमबाट चिनिनुपर्ने समय आएकोमा विशेष जोड दिए।
मन्त्री पौडेलले विगतको समय सम्झँदै चलचित्र क्षेत्रका बारेमा गरिने पुराना ठट्टाहरूको समेत चर्चा गरे। तर, आज नेपाली सिनेमाको परिस्थिति र स्तर पूर्ण रूपमा बदलिएको उनको भनाइ थियो।
उनले भने, ‘नेपाली सिनेमाले एकदमै ठूलो फड्को मारिरहेको छ। अविनाशजी त्यसको पछिल्लो शृङ्खलाका एक प्रतिनिधि पात्र हुनुहुन्छ। हामी पहिले–पहिले एउटा जोक गथ्र्यौँ– फिल्म तीन प्रकारका हुन्छन्, गुड फिल्म, ब्याड फिल्म र हिन्दी फिल्म। नेपाली फिल्मलाई त त्यसमा राखिन्थ्यो कि राखिँदैनथ्यो, मलाई थाहा छैन। तर आज परिस्थिति धेरै बदलिएको छ। धेरैको सपना हुने ठाउँमा, जब ‘लोरी’ ले क्यानमा एउटा प्रतिष्ठित पुरस्कार प्राप्त गर्यो, त्यसको चर्चा नेपालभन्दा बढी भारतमा भएको मैले देखेको थिएँ। त्यो चर्चा भनेको देशलाई चिनाउने माध्यम हो। देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ। भगवान गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने? अब त हाम्रो पनि पालो हो। तपाईंहरूको यो योगदानप्रति मेरो गहिरो सम्मान छ।’
चलचित्र ‘लोरी’ को अन्तर्राष्ट्रिय सफलताले देशलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै मन्त्री पौडेलले यस्ता उपलब्धिहरूलाई राज्यले गर्वका रूपमा लिनुपर्ने बताए।
अहिले अन्तर्राष्ट्रिय समुदाय र विश्वका सिनेमा पारखीहरूले नेपाली चलचित्र र यहाँका मौलिक सर्जकहरूलाई निकै नजिकबाट नियालिरहेको उनले उल्लेख गरे। कलाकारहरूको योगदान शब्दमा व्यक्त गर्न नसकिने भन्दै उनले चलचित्र क्षेत्रको थप संस्थागत विकास र प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र सबै मिलेर एकसाथ अघि बढ्नुपर्ने खाँचो औँल्याए। उनले आगामी दिनमा नेपाली सिनेमाको यो यात्रालाई अझ सवल बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहकार्य र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे।