बदमासी प्रमाणित भए सार्वजनिक जीवन नै त्याग गर्न तयार छु : अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
339
Shares
काठमाडौँ । विपक्षीहरूले करका दर हेरफेरमा चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यसलाई प्रमाणित गरेर देखाउन कडा चुनौती दिएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँचपास र करका दरमा दुई अर्ब रुपैयाँ बराबरको चलखेल भएको आशङ्का गरेपछि अर्थमन्त्री वाग्लेले आक्रोश व्यक्त गर्दै यस्तो चुनौती दिएका हुन्।
अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतार-हतारमा सवारीसाधन भित्र्याएको वा राज्यको राजस्वमा क्षति पुर्याएको आरोप लगाउने हो भने त्यसका ठोस प्रमाणहरू सार्वजनिक गर्न स्पष्ट पारे। उनले दुई अर्ब मात्र नभई दुई रुपैयाँ बराबरको पनि बदमासी भएको प्रमाणित भए आफू अर्थमन्त्री र सांसद पद मात्र नभई सधैँका लागि सार्वजनिक जीवन नै त्याग गर्न तयार रहेको घोषणा गरे।
बजेट सार्वजनिक हुनु अगावै कर बढ्दै छ भन्ने पूर्वसूचना चुहाएर व्यापारीलाई फाइदा पुर्याएको भन्ने आरोपलाई उनले पूर्ण रूपमा भ्रम र 'ननसेन्स' को संज्ञा दिएका छन्। उनले कुनै पनि किसिमको कागजी प्रमाण, सञ्चार वा पत्राचारका विवरण भए तुरुन्तै बाहिर ल्याउन आग्रह गर्दै आफू जुनसुकै कठघरामा उभिन पनि तयार रहेको दृढता व्यक्त गरे।
बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सार्वजनिक जीवनमा रहेका हरेक व्यक्तिले समान स्तरको उच्च नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकतामा जोड दिए। उनले आगामी आर्थिक वर्षको बजेट र कर नीतिसम्बन्धी सम्पूर्ण निर्णयहरू कुनै निश्चित समूहलाई फाइदा पुर्याउन नभई आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा देशको दीर्घकालीन आर्थिक हितलाई मात्र ध्यानमा राखेर गरिएको दाबी गरे।