विनियोजन र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
306
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बिहान ११:०० बजे सिंहदरबारमा बस्दै छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा बजेट, संस्कृति र श्रम महासन्धिसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पेस हुनेछन्।
आजको बैठकको मुख्य कार्यसूची बजेट (विनियोजन विधेयक) माथिको सैद्धान्तिक छलफलसँग जोडिएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र विनियोजनका सिद्धान्तहरूमाथि केन्द्रित रहेर संसद्मा आफ्नो धारणा राख्ने बाटो खुल्नेछ।
यसै गरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ। नेपालका अमूर्त कला, संस्कृति, रीतिरिवाज र रैथाने ज्ञानको संरक्षण र संवर्द्धनका लागि यो विधेयक अघि बढाइएको हो।
आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम सम्झौताहरू संसद्मा पेस गर्ने कार्यसूची छ।
जसअन्तर्गत मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नम्बर २९)’ प्रतिनिधि सभामा पेस गर्नेछिन्। यी महासन्धिहरू संसद्बाट पारित भएपछि नेपालमा श्रम बजारको अनुगमन र बाध्यकारी श्रम (बन्धक श्रम) उन्मूलनका लागि कानुनी संयन्त्र थप बलियो हुने अपेक्षा गरिएको छ।