arrow

ग्रामीण सडक निर्माणको क्रममा अपनाइने सुरक्षा मापदण्डमाथि फेरि गम्भीर प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
skavetor-accident-83-2-29.jpg

हुम्ला । ग्रामीण सडक निर्माणको क्रममा अपनाइने सुरक्षा मापदण्डमाथि फेरि गम्भीर प्रश्न उठेको छ। सर्केगाड गाउँपालिका–६ को बराई क्षेत्रमा भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार मध्यरातमा सडक विस्तारको काम भइरहेको बेला स्काभेटर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटनामा दैलेख घर भई हाल बर्दियामा बसोबास गर्दै आएका अन्दाजी २५ वर्षीय स्काभेटर चालक कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

ग्रामीण क्षेत्रमा रातिको समयमा जोखिमपूर्ण भूगोलमा सडक निर्माण कार्य भइरहेका बेला पर्याप्त सुरक्षा सतर्कता अपनाइएको थियो वा थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ। सडक निर्माणलाई तीव्रता दिने नाममा श्रमिक र चालकको सुरक्षालाई बेवास्ता गरिँदा यस्ता दुर्घटना दोहोरिने गरेको स्थानीयको गुनासो छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको छ। दुर्घटना लगत्तै सर्केगाड प्रहरी चौकीको टोली पनि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताए।

दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, एक युवा चालकको ज्यान गएसँगै विकास निर्माणका काममा सुरक्षा व्यवस्थालाई कति प्राथमिकता दिइएको छ भन्ने प्रश्न फेरि एकपटक सतहमा आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ