रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित, पहिलो चरणमै स्पष्ट बहुमत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
338
Shares
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार राति भएको मतदानपछि शनिबार बिहान सम्पन्न मतगणनामा त्रिपाठीले पहिलो चरणमै स्पष्ट बहुमत हासिल गर्दै नेतृत्वमा पुगेका हुन्।
सभापतिका लागि नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की प्रतिस्पर्धामा थिए। गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति हुन् भने त्रिपाठी महासचिवका रूपमा कार्यरत थिए। कँडेल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की-२ का उम्मेद्वार थिए भने कार्की वैकल्पिक राजनीति तथा अटेरी अभियानमा सक्रिय थिए।
मतपरिणामअनुसार त्रिपाठीले २३४ मत प्राप्त गरे। गौतमले १८२, माधव कँडेलले ११ र हरिबहादुर कार्कीले दुई मत पाए।
कार्कीले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिए पनि उनको नाम मतपत्रमा रहेकाले मत खसेको बताइएको छ।
रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ। दोस्रो चरणको मतदान हुन सक्ने अनुमान गरिए पनि त्रिपाठीले पहिलो चरणमै आवश्यक मत कटाएर विजयी भएका हुन्।
यसैबीच, गण्डकी प्रदेश समितिका सदस्य पदका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए। तीमध्ये विभिन्न क्लस्टरअन्तर्गत ३३ जना निर्वाचित हुने व्यवस्था छ। क्षेत्रगत सदस्यतर्फ २८ उम्मेदवारबाट १८ निर्वाचन क्षेत्रका एक-एक जना र समावेशीतर्फ २३ उम्मेदवारबाट १५ जना निर्वाचित भएका छन्।
प्रदेश सदस्यतर्फ १२ जना निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रगततर्फ बागलुङ-१ की मीना शर्मा आचार्य, गोरखा-१ का मनोज गुरुङ, गोरखा-२ का बलबहादुर घले, लमजुङका विजय पराजुली, म्याग्दीका ताराबहादुर कार्की र तनहुँ-१ का सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भए।
समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी र राममाया बस्ताकोटी, मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन्। रास्वपा गण्डकी प्रदेशको प्रथम अधिवेशनमा ७८० प्रतिनिधिको सहभागिता रहेको थियो।