उत्तर कोरियामा ड्रोन घुसपैठ गराएको अभियोगमा दक्षिणका पूर्वराष्ट्रपतिलाई तीस वर्षको जेल सजाय थप
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
353
Shares
काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राज्यद्रोहको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ। उत्तर कोरिया (डीपीआरके) मा ड्रोन घुसपैठ गराएर देशको सैन्य हितविपरीत कार्य गरेको ठहर गर्दै सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो।
अदालतले युनलाई साधारण राज्यद्रोहको कसुरमा दोषी ठहर गरेको छ, जुन दक्षिण कोरियाको सैन्य स्वार्थमा हानि पुर्याउने वा शत्रु पक्षलाई फाइदा पुर्याउने अपराधसँग सम्बन्धित छ। अदालतको फैसलामा भनिएको छ कि उक्त ड्रोन घुसपैठ राष्ट्रिय सुरक्षा वा प्रतिरक्षाका लागि नभई निजी स्वार्थका लागि गरिएको थियो, जसले देशको सैन्य हितमा ठूलो क्षति पुर्याएको छ।
स्वतन्त्र काउन्सिलको अनुसन्धान टोलीले युन विरुद्ध ३० वर्षको कारागार सजाय माग गर्दै अदालतमा दाबी पेस गरेको थियो। युनमाथि सन् २०२४ अक्टोबरमा प्योङयाङमा ड्रोन घुसपैठ गराउन आदेश दिएको र सोही वर्षको डिसेम्बरमा मार्सल ल (सैन्य शासन) घोषणा गर्न आधार तयार पार्ने उद्देश्यले उत्तर कोरियालाई सैन्य उत्तेजना फैलाउन उकासेको अभियोग लगाइएको थियो।
विशेष अभियोजक टोलीका अनुसार उक्त ड्रोन अपरेसनले दुई कोरियाबिच सैन्य तनाव बढाउनुका साथै ड्रोन दुर्घटनाका कारण सैन्य सञ्चालन र सम्पत्तिसम्बन्धी अति गोप्य सूचनाहरू समेत चुहावट हुन पुगेको थियो।
सोही मुद्दामा अदालतले पूर्वरक्षामन्त्री किम योङ–ह्युनलाई ३० वर्षको जेल सजाय सुनाएको छ। यो सजाय अभियोजन पक्षले माग गरेको २५ वर्षको सजाय भन्दा पनि बढी हो। त्यस्तै, डिफेन्स काउन्टर इन्टेलिजेन्स कमान्डका पूर्व प्रमुख यो इन–ह्युङलाई १५ वर्षको जेल सजाय तोकिएको छ। युन, किम र यो विरुद्ध सन् २०२५ नोभेम्बरमा राज्यद्रोहको मुद्दा दायर गरिएको थियो।
यसअघि सन् २०२४ डिसेम्बर ३ मा संकटकाल घोषणा गरी राज्य विद्रोह गरेको अभियोगमा पूर्वराष्ट्रपति युनलाई गत फेब्रुअरीमा जन्मकैदको सजाय सुनाइसकिएको थियो। सन् २०२५ जनवरीमा विद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा लिइएका युन, पदमा बहाल रहँदाकै अवस्थामा पक्राउ परी आपराधिक अभियोग लाग्ने दक्षिण कोरियाको इतिहासमै पहिलो राष्ट्रपति हुन्। हालको नयाँ फैसलाले उनको जेल सजायको अवधिमा थप ३० वर्ष थपिदिएको छ।