arrow

एक खर्बभन्दा बढीको वित्तीय घोटाला न्यायिक प्रक्रियामा छ : अर्थमन्त्री वाग्ले [भिडियो]

देशलाई निहित स्वार्थ समूहको कब्जाबाट मुक्त गर्दैछौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
swarnim-wagle-31.jpg

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको चरम प्रभावमा रहेको दाबी गर्दै सरकार अहिले त्यसलाई तोड्ने महाअभियानमा लागेको बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अङ्गहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू क्रमशः खुलिरहेको स्पष्ट पारे।

अर्थमन्त्री डा. वाग्लेले मुलुकको इतिहासकै सबैभन्दा ठुलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा अगाडि बढेको खुलासा गरे। उक्त घोटालामा एक खर्ब रुपैयाँभन्दा बढीको बिगो माग दाबीसहित मुद्दा प्रक्रियामा रहेको जानकारी दिँदै उनले सरकार अहिले अर्थव्यवस्थामा देखिएका यस्ता तमाम बेथिति र फोहोरलाई सफा गर्ने 'क्लििन अप' अभियानमा रहेको जिकिर गरे। मुलुक कहिल्यै बन्दैन र यहाँ आफ्नो भविष्य छैन भनेर युवाहरू विदेशिनुपर्ने जुन निराशाजनक भाष्य समाजमा निर्माण गरिएको छ, त्यसलाई चिर्ने गरी सरकारले काम गरिरहेको उनको दाबी छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, “विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरूको कब्जामा थियो। स्वार्थ समूहहरूले देशलाई क्याप्चर गरेका थिए, पोलिटिसियनहरू उनीहरूको गोजीमा थिए। राज्यका अन्य अङ्गहरू समेत उनीहरूको प्रभावमा थिए। त्यसलाई हामी अहिले तोड्दैछौँ। नेपालको इतिहासमै सबैभन्दा ठुलो फाइनान्सियल स्क्यान्डल (वित्तीय घोटाला) अहिले न्यायिक प्रक्रियामा रहेको छ। एक खर्बभन्दा बढी बिगो मागेर मुद्दा चलिरहेको छ। यसको पछाडिको कथा तपाईंले पढ्नुभयो भने देशका राजनीतिक व्यक्ति र निकायहरू कसरी प्रभावित भएका थिए भन्ने कुरा बुझेर डर लाग्छ। त्यसकारण हामीले अहिले यो सबै गडबडी सफा गर्ने अर्थात् ‘क्लिन अप दि मेस’ सुरु गरेका छौँ, ताकि तपाईंहरू जस्ता युवा विदेशिन नपरोस्। यो देशमा केही हुँदैन, सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने भाष्य हामी चिर्दैछौँ। तपाईंहरू आउनुहोस् र भन्नुहोस् के-के सुधार्नुपर्ने हो? यसका लागि बजेट नै कुर्नुपर्दैन।”

अर्थमन्त्री डा. वाग्लेले मुलुकमा सुशासन, कानुनी राज्य र आर्थिक समृद्धिको बलियो जग बसाउनका लागि सरकार ५ वर्षको स्पष्ट रोडम्याप (कार्ययोजना) सहित अघि बढिरहेको बताए। उनले युवा उद्यमी र नवप्रवर्तनकारी सोच भएका जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न नीतिगत सुधारका कार्यहरू तत्कालै अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ