पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
196
Shares
पोखरा। पोखरामा सोमबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय विष्णुबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार पोखरा-२७ डाँडाकोनाक अगाडि सो दुर्घटना भएको हो । विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्वरको टिप्परले विपरीत दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा ८० प ३५३० नम्बरको मोटरसाइकललाई बिहान करिब ११ः२५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा ११ः४५ बजे चिकित्सकले मृत घोषणा गरिएको प्रहरीको भनाइ छ ।
सो दुर्घटनामा मोटरसाइकल पूर्णरुपमा क्षति भएको बताइन्छ । टिप्पर र त्यसका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं २ साखरका ३३ वर्षीय पदमबहादुर थापालाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।