arrow

मुलुकको मौसममा मिश्रित बदलाब, यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण मुलुकको मौसममा मिश्रित बदलाब देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहँदा तराईका केही क्षेत्रमा भने अत्यधिक गर्मी र तातो लहर चल्ने स्थिति छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका साथै लुम्बिनीको हिमाली क्षेत्र र कोशीको तराई भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनीको पहाडी भू-भाग र मधेशको तराईमा आंशिक बादल लाग्ने अनुमान गरिए पनि अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यसै अवधिमा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकीका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा समेत यस्तै मौसमी गतिविधि दोहोरिन सक्नेछ। यता कोशीको तराईका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो लहर चल्ने र बागमती तथा गण्डकीको तराईमा 'तातो दिन' हुने भएकाले अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउनु पर्ने देखिन्छ।

यसै गरी आज राती कोशी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश र अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने रातिको मौसम मुख्यतया सफा रहनेछ। रातीको समयमा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। 

साथै कोशीको तराईका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई विशेष सजगता अपनाउन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ