मध्यरातमा मन्त्री क्वार्टरमा प्रहरीको खानतलासी, संसद्मा सरकारको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
268
Shares
काठमाडौँ । प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवास (क्वार्टर) मा प्रहरीले मध्यरातमा खानतलासी गरेको विषयलाई लिएर संसद्मा प्रश्न उठाइएको छ।
बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद राजेन्द्रकुमार राईले मन्त्री पराजुली संखुवासभा गएको मौका छोपी बिहीबार राति १०:०० बजे प्रहरीले विनाकारण निवासमा खानतलासी गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। “मन्त्री पराजुली घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ,” सांसद राईले आपत्ति जनाउँदै भने, “प्रहरीले किन यस्तो गरेको हो? सरकारबाट म यो स्पष्ट रूपमा जान्न चाहन्छु।”
यसैगरी, बैठकमा आकस्मिक समयमै बोल्दै अर्का सांसद आरेन राईले ‘जेनजी’ आन्दोलनका बेला नयाँ बानेश्वरस्थित एक बैंकमा धितो राखिएको १८ तोला सुन चोरी भएको घटनाप्रति सरकारको ध्यान खिचेका छन्। सुन चोरी हुँदा सर्वसाधारण उपभोक्ता मारमा परेको भन्दै उनले दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरे।
सांसदहरूले विभिन्न विषय उठान गरेपछि सभामुख डोलप्रसाद अर्यालले संसद्को आकस्मिक समयको संवेदनशीलताप्रति सचेत गराएका छन्। उनले आकस्मिक समयमा कुनै गम्भीर प्रकृतिको घटना वा आकस्मिक विषयवस्तु भएमा मात्र समय माग गरेर बोल्न सांसदहरूलाई आग्रह गरे।