प्रधानमन्त्री कार्यालयले गर्यो सात सदस्यीय कार्यदल गठन, १५ दिनको समयसीमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
326
Shares
काठमाडौँ l ताप्लेजुङको ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ (पाथीभरा) मा केवलकार निर्माणलाई लिएर लामो समयदेखि चर्किएको विवाद समाधानका लागि सरकारले अग्रसरता देखाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयबाट यससम्बन्धी समस्या समाधानका लागि एक सात सदस्यीय कार्यदल गठन गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा गठित यस कार्यदललाई पाथीभरा मन्दिर जाने केवलकार निर्माणका क्रममा उत्पन्न विवाद र असमझदारीहरूको सुक्ष्म पहिचान गरी आगामी १५ दिनभित्र व्यावहारिक सुझावसहितको प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, कार्यदलले स्थानीयस्तरमा देखिएका असहमति र सरोकारवालाका मागहरूलाई मध्यनजर गर्दै समाधानको साझा खाका तयार पार्नेछ।
विवादलाई दुवै पक्षको सहमतिमा तार्किक निष्कर्षमा पुर्याउन कार्यदलमा सबै सरोकारवाला निकाय र आन्दोलनरत पक्षलाई समेत समेटिएको छ। कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउँदै आएका आन्दोलनकारी पक्षका प्रतिनिधि, र पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधिलाई समावेश गरिएको छ।
त्यसैगरी केवलकार निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलमा सदस्यका रूपमा रहेका छन्। ऐतिहासिक पहिचानको संरक्षण र विकासको आवश्यकताबीच देखिएको यो टसललाई कार्यदलको संवादले निकास दिने विश्वास गरिएको छ।