काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको निर्णायक खेलमा पाराग्वेले टर्किएलाई १-० ले पराजित गर्दै आफ्नो नकआउट सम्भावना जीवित राखेको छ भने टर्किए प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो खेलमा पराजित भएका दुवै टोलीका लागि जित अपरिहार्य थियो। सान फ्रान्सिस्कोमा भएको खेलमा पाराग्वेले शुरूआतमै आक्रामक गर्दै विश्वकप-२०२६ कै सबैभन्दा छिटो गोल गर्यो।
खेल शुरू भएको मात्र ६४ सेकेन्डमा माटियास गालार्साले जुलियो एन्सिसोको पासलाई सदुपयोग गर्दै बायाँ खुट्टाले प्रहार गरेका थिए। मेरिह डेमिरालको खुट्टाबीचबाट गएको बल गोलरक्षक उगुरकान चाकिरलाई छलाउँदै जालीमा पुगेको थियो।
गोलपछि टर्किएले बराबरीका लागि लगातार दबाब बनायो। मर्ट मुल्दुरको हेडर बार र पोस्टमा लागेर फर्कियो भने हाकान चाल्हानोग्लु, डेनिज गुल र केनान यिल्दिजले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनन्।
पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका मिगुएल अल्मिरोन रातो कार्ड पाउँदै विश्वकप-२०२६ मा नयाँ नियमअन्तर्गत निष्काशित हुने पहिलो खेलाडी बने। विवादका क्रममा मुख छोप्न नपाइने नयाँ नियम उल्लङ्घन गरेपछि उनले मैदान छाड्नुपरेको थियो।
दोस्रो हाफमा १० खेलाडीमा सीमित पाराग्वेले अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्दै अग्रता जोगायो। लगातार टर्किस आक्रमण विफल पार्दै पाराग्वेले महत्वपूर्ण तीन अंक हात पार्यो।
यो जितसँगै पाराग्वेले आफ्नो विश्वकप अभियानलाई पुनर्जीवित गरेको छ र समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। उता लगातार दोस्रो हार बेहोरेको टर्किए भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ।