घण्टी बजाएर गरियो रास्वपाको प्रथम महाधिवेशन उद्घाटन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
222
Shares
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन गरिएको छ। चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा विशेष तयारीका साथ शुरू भएको उक्त महाधिवेशनलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र साह (बालेन) ले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर उद्घाटन गरेका हुन्।
रास्वपाको यस ऐतिहासिक अवसरमा शुभकामना दिन देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन्।
यसै गरी जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका अन्य दलका प्रमुख नेताहरू पनि मञ्चमा उपस्थित रहेका छन्। रास्वपाको यस महाधिवेशनमा विभिन्न राजनीतिक शक्तिहरूको सहभागिता रहे पनि धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता भएको छैन।
देश–विदेशका हजारौँ प्रतिनिधिको उपस्थितिमा घण्टी ध्वनि गुञ्जायमान भएसँगै रास्वपाको तीन दिने महाधिवेशनको बन्दसत्रका राजनीतिक र साङ्गठनिक प्रक्रियाहरू अगाडि बढ्नेछन्।