arrow

हाम्रो उद्देश्य सरकार फेर्ने मात्र होइन, राजनीतिक संस्कार बदल्ने हो: उपसभापति वाग्ले

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
swarnim-07.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने खेलमा मात्र नलागी देशको समग्र राजनीतिक संस्कार परिवर्तनको महाअभियानमा रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उपसभापति डा. वाग्लेले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना (इन्सेन्टिभ स्ट्रक्चर) भएको स्पष्ट पारे। विगतमा पुराना राजनीतिक दलहरूले क्षमता र अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने गलत संस्कार विकास गरेको उनको आरोप थियो। राजनीतिमा इमानदार मानिसलाई प्रवेश गर्न कठिन बनाइएको तर पहुँच भएकाहरूलाई सजिलै सफल हुने प्रणाली स्थापित गरिएको भन्दै उनले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाए।

उनले व्यवसायिक क्षेत्रको बेथिति औँल्याउँदै बजारमा नयाँ सोच र नवप्रवर्तन (इन्नोभेसन) गर्नेहरूलाई पाखा लगाउने तर शक्ति केन्द्रहरूसँग निकट रहेकाहरूलाई पोस्ने काम भइरहेको बताए। राज्य संयन्त्र सिर्जनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको चर्चा गर्दै उनले अवसर विस्तार गर्नेभन्दा आफ्ना मान्छे र पहुँचको संरक्षण गर्ने प्रवृत्तिले नै मुलुकको विकास रोकेको दाबी गरे। रास्वपा त्यही अवरोध र गलत प्रणालीलाई भत्काउने अभियानमा होमिएको उनको भनाइ थियो।

आफ्नो सम्बोधनका क्रममा डा. वाग्लेले भने, "नेपालको समस्या स्रोत र सम्भावनाको अभाव मात्र होइन, हाम्रो मुख्य समस्या गलत प्रोत्साहन संरचना हो। राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो। व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो। राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो। त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन। यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ।"

उपसभापति डा. वाग्लेले रास्वपा विवेक, विधि र नियममा आधारित शासन प्रणाली निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। वर्षौँदेखि जरा गाडेर बसेको राजनीतिक भागबण्डाको अन्त्य गर्दै योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा देश चलाउने र नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्रको वास्तविक विकास गर्न पार्टी दृढ रहेको कुरामा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ