arrow

जेन-जी आन्दोलनको भाव र शहीदको सपना नबिर्सन रास्वपालाई सीके राउतको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
ck-raut-07.jpg

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले जेन-जी आन्दोलनको मर्म, भाव र त्यसबाट प्राप्त जनविश्वासलाई कहिल्यै नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्। चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा जारी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष राउतले आफू रास्वपाको महाधिवेशनमा केवल औपचारिकता निभाउन मात्र नभई जेन-जी आन्दोलनबाट प्राप्त भएको भरोसा र जनआस्थालाई भुल्न नहुने कुरा स्मरण गराउन आएको स्पष्ट पारे। उनले आफ्नो पार्टी फरक भए पनि देश बनाउने जनमत पार्टीको सपना रास्वपामार्फत नै पूरा होस् भन्ने चाहना रहेको र त्यसका लागि आफ्नो पूर्ण शुभकामना रहेको जिकिर गरे।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने, "जेन–जी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ। त्यही भएर तपाईँहरू जुन आन्दोलन र लहरबाट उदय हुनुभएको छ, जुन जनआस्था र विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर म यहाँबाट भन्न चाहन्छु। हाम्रो पार्टी फरक होला, केही छैन। हामी भन्छौँ— हाम्रो सपना पनि तपाईँमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ। त्यसका लागि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ।"

अध्यक्ष राउतले रास्वपाले नयाँ पुस्ताको भावना र परिवर्तनका लागि रगत बगाएका शहीदहरूको सपनालाई आत्मसात् गर्दै अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे। नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाले जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ