रास्वपा कांग्रेसको दुश्मन होइन, प्रमुख प्रतिस्पर्धी हो: गगन थापा [भिडियो]
संसद्मा जहाँ औँला ठड्याउनुपर्ने हो ठड्याउँछौँ, जहाँ थपडी बजाउनुपर्ने हो बजाउँछौँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
189
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले दुई दलबीच वैचारिक र राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको स्पष्ट पारे।
सम्बोधनका क्रममा उनले रास्वपाले छोटो समयमै हासिल गरेको विशाल जनमतप्रति आफ्नो सम्मान रहेको बताउँदै कांग्रेसलाई रास्वपाभन्दा अग्लो राजनीतिक शक्ति बनाउने दाबी गरे। तर, त्यो उचाइ अरूलाई कमजोर बनाएर नभई आफ्नै कर्म र इमानदारिताबाट प्राप्त गर्ने उनले उल्लेख गरे।
संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सरकारसँग आवश्यकता अनुसार मुद्दाका आधारमा सहकार्य र आलोचना दुवै गरिने उनको भनाइ थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले भने, "नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौँ। तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ। तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ र बन्छौँ पनि एकदिन। तर तपाईँहरूलाई सानो बनाएर, खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ। हामी सफा हुन चाहन्छौँ, तर तपाईँहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ। हामी तपाईँहरूको दुश्मन होइनौँ। हामी संसद्मा प्रतिस्पर्धी छौँ। जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो, त्यहाँ औँला ठड्याउँछौँ। जहाँ थपडी बजाउनुपर्ने हो, त्यहाँ थपडी बजाउँछौँ।"
सभापति थापाले लोकतन्त्रमा निरन्तर खबरदारी र प्रश्नहरू जीवित रहनुपर्ने धारणा राख्दै कांग्रेस र आफ्ना नेताहरूको रचनात्मक आलोचना गर्न नछाड्न समेत रास्वपा पंक्तिलाई खुला आह्वान गरे।
पार्टीभित्र गलत हुँदा लड्न र विरोध गर्न कार्यकर्ताहरू पछि पर्न नहुने भन्दै थापाले भने, "विगतमा भएका कमी-कमजोरीमा म शिर निहुर्याउँछु, आत्मग्लानी गर्छु। विगतमा गल्ती भएकै हो। तर जब नसच्चिने स्थिति आयो, हामीले पार्टीभित्रै विद्रोह गर्यौँ। बाहिर लड्नुभन्दा पार्टीभित्र लड्न धेरै गाह्रो हुन्छ। हामीले आफ्नै नेताहरूलाई पनि गल्ती गर्दा प्रश्न उठाउनुपर्छ। हामीले 'दाई र बा' बनाएर गल्ती गरियो, तपाईँहरूले आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, नत्र सुशासन आउँदैन। पार्टीभित्रको गलत कार्यको विरोध गर्न नसक्नेले देशमा सुशासन ल्याउन सक्दैन।"
नयाँ पुस्ताले इतिहास र पुराना आन्दोलनका बलिदानहरूलाई अवमूल्यन गर्न नहुनेमा जोड दिँदै उनले भने, "आज चितवनमा सहरभरि निलो देखियो, तर त्यही भूमिको तल शहीदको रातो रगत छ भन्ने पनि नभुल्नुहोला। विगतमा केही नराम्रा भएकै हो, तर सबै नराम्रो भएको होइन। अहिले तपाईँहरू उभिएकै चितवनको यही भूमिमा वि.सं. २०१८ सालमा 'जय नेपाल' भनेकै कारणले र लोकतन्त्र मागेकै कारणले ५० जनाको लास गाडिएको थियो। आज तपाईँहरूको निलो झन्डा फहराउन पाएको पनि उनीहरुकै कारणले हो। त्यसैले निलो झन्डा फहराउँदै गर्दा भुइँमा रातो पनि छ भन्ने सम्झनुपर्दछ।"
सभापति थापाले छिमेकी देशले नेपालको सिमाना मिचेका छन् भन्ने खालका गैरजिम्मेवार अभिव्यक्तिको कांग्रेसले विरोध गर्ने बताउँदै राष्ट्रियताको सवालमा रास्वपाले पनि बलियो अडान लिए त्यसको खुलेर प्रशंसा गरिने उल्लेख गरे। विधिको शासन मिचिँदा कांग्रेसले सधैँ प्रश्न उठाइरहने दृढता व्यक्त गर्दै उनले रास्वपाको महाधिवेशन सफलताको शुभकामना दिए।