रास्वपाको महाधिवेशनबाट बालेनले दिएको सन्देश [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
395
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह (बालेन)ले सरकार र पार्टीको यात्रा पूर्ण रूपमा नियन्त्रणमा रहेको र कुनै पनि कुरा नियन्त्रणबाहिर नगएको दाबी गरेका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकार सही दिशामा अघि बढेकाले यसको गतिप्रति चिन्ता नलिन आग्रह गरे।
सम्बोधनका क्रममा प्रधानमन्त्री साहले एमाले नेता प्रदीप ज्ञवालीले उठाएको ‘गाडीमा एक्सलेटर मात्र होइन ब्रेक पनि चाहिन्छ’ भन्ने भनाइको रोचक जवाफ फर्काए। उनले सरकारको गाडी कुनै स्थानीय सडक (लोकल रोड) मा नभई तीव्र गतिको ‘एक्सप्रेस वे’ मा गुडिरहेको टिप्पणी गरे। स्थानीय सडकमा हिँड्दा मात्र दायाँ–बायाँबाट आउने अवरोधका कारण ब्रेक लगाउनुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले सरकारको गाडी गन्तव्यमा पुगेपछि मात्रै रोकिने प्रष्ट पारे।
जनताको मत हावाजस्तो बदलिइरहन्छ भन्ने राजनीतिक वृत्तको चासोमाथि टिप्पणी गर्दै उनले आफूहरूले कुनै हावा नचलाएको बरु बाढी ल्याएर खोला नै फर्काएको दाबी गरे। खोला एकपटक आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही मार्गमा बगिरहने भन्दै उनले रास्वपाको जनमत सजिलै नखस्ने संकेत गरे। रास्वपालाई चर्चा वा 'स्पटलाइट' मा नेताहरूले नभई जनताले ल्याएको भन्दै उनले पार्टीको वैचारिक धरातल कुन हो भनेर धेरै चिन्ता नगर्न आग्रह गरे। रास्वपा कुनै 'वाद' मा नअल्झिने बरु पूर्ण रूपमा विकासवादी र काम गर्ने पार्टी भएको उनको भनाइ थियो।
भ्रष्टाचार र सरकारी सम्पत्ति दोहन गर्नेहरूविरुद्ध सरकार निहुँ खोजेरै प्रस्तुत हुने चेतावनी दिँदै प्रधानमन्त्री साहले अनुसन्धानका क्रममा कुनै पनि नियम–कानुन उल्लंघन नगरिने प्रतिबद्धता जनाए। प्रधानमन्त्री कार्यालयमा अख्तियारका कर्मचारीलाई बोलाइएको विषयमा स्पष्ट पार्दै उनले सरकारी रकमको दुरुपयोग भएको ठाउँमा निहुँ खोज्दा अख्तियारसँग पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्ष नै राखेर सरसल्लाह र सोधपुछ गरिने चेतावनी दिए।
त्यस्तै देशको सिमाना र राष्ट्रियताको विषयमा नेपालसँग कालापानी र लिपुलेकको स्पष्ट प्रमाण रहेको भन्दै उनले छिमेकीहरूसँग आफैँ कुरा गरेर समस्या सल्टाउने बताए। ब्रिटिस कालको प्रमाण चाहिए त्यो पनि ल्याउन तयार रहेको उल्लेख गर्दै उनले आफ्नो राष्ट्रियता र देशभक्तिमाथि शङ्का नगर्न आग्रह गरे।
महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्र गुट र उपगुट बनाउने खेलमा नलाग्न उनले कडा निर्देशन दिए। अहिले नै गुटबन्दीको त्यस्तो बिउ नरोप्न आग्रह गर्दै उनले भोलि रुख बनेपछि बीचबाटै फाँड्नुपर्ने स्थिति आउन नहुने बताए। रास्वपाले हरेक चुनावमा एउटै एजेन्डा नबोक्ने स्पष्ट पार्दै उनले यसै कार्यकालमा सुकुम्वासी र सहकारी समस्या समाधान गर्ने र अर्को चुनावमा नयाँ एजेन्डा लिएर जाने दाबी गरे।
वर्तमान सरकार गठबन्धनको नभई एकल पार्टीको सरकार भएकाले पार्टीका हरेक कार्यकर्ता, सीसीएम, सांसद र आस्था राख्ने व्यक्ति नै ‘प्रधानमन्त्री’ सरह भएको उल्लेख गर्दै उनले पद नपाए पनि देश विकासका योजना भए सिधै सरकारमा लिएर आउन आह्वान गरे। सम्बोधनको अन्त्यमा उनले महाधिवेशनका केही दिन पार्टीको हितका बारेमा सोच्न र त्यसपछिका पाँच वर्ष पूर्ण रूपमा देशको विकासका बारेमा सोचेर अघि बढ्न सबैलाई आग्रह गरे।