कोशीमा मनसुनको प्रभाव, लुम्बिनी र सुदूरपश्चिमका तराईमा 'लु' चल्ने सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
278
Shares
काठमाडौँ । हाल नेपालमा कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा अत्यधिक गर्मी (तातो लहर/लु) चल्ने सम्भावना छ।
साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मौसम तातो रहने विभागले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने राति मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।