arrow

व्यापार गर्न चाहनेलाई उपयोगी बन्दै राष्ट्रिय वाणिज्य बैंकको धितो कर्जा 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
Rastriya-Banijya-Bank.jpg

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले व्यापारी र व्यापार गर्न चाहनेहरूका लागि विशेष कर्जा कार्यक्रम ल्याएको जनाएको छ । व्यापारिक प्रयोजनले खरिद गरिने, निर्माण गरिने वा निर्माण गरिएको भवनको लागि लिएको ऋण तिर्ने प्रयोजनका लागि धितो कर्जाको व्यवस्था गरेको हो । 

विविध व्यक्तिगत आवश्यकता पूरा गर्न वाणिज्य बैंकले विभिन्न प्रकारका आकर्षक कर्जाहरू उपलब्ध गराउँदै आएकामा धितो कर्जा पनि रहेको छ ।  

बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलले कुनै पनि प्रकारका व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिएका हुन् । 

उनले कर्जाको प्रकृति हेरेर विभिन्न कर्जाको ऋण रकम, त्यसको अवधि र ब्याजदर भने फरक– फरक रहेको जानकारी दिए । 

हाललाई बैंकले विभिन्न १० शीर्षकमा कर्जा उपलब्ध गराउँदै आएको बताउँदै कर्जा प्रमुख पौडेलले अवकाशप्राप्त कर्मचारीका लागि पनि कर्जाको व्यवस्था गरेको जानकारी दिए । 

के हो धितो कर्जा ?

व्यापारिक प्रयोजनले खरीद गरिने, निर्माण गरिने वा निर्माण गरिएको भवनको लागि लिएको ऋण तिर्ने प्रयोजनका लागि धितो कर्जाको व्यवस्था गरिएको कर्जा प्रमुख पौडेलले बताए । 

यस्तो कर्जाको अधिकतम सीमा २५ करोड रुपैयाँसम्म हुने र भुक्तानी अवधि अधिकतम १५ वर्षसम्म हुने व्यवस्था गरिएको छ । 

भवन निर्माण वा खरिदमा ठूलो रकम खर्च गर्नुपरेमा वा त्यस्तो भवनबाट भविष्यमा प्राप्त हुने आम्दानीलाई आधार मानी कर्जा उपभोग गर्न चाहने ग्राहकहरूको लागि धितो कर्जा निकै उपयोगी भएको छ । 

के छ यो कर्जा लिन सर्त ?

यस प्रकारको कर्जाको लागि ग्राहकले बैंक समक्ष जुन भवन निर्माण गरिने वा खरिद गरिने वा निर्माण वा खरिद गरिएको हो सो घरजग्गा धितोको रूपमा प्रस्ताव गर्नुपर्दछ । 

बैंकको नियमानुसार धितो सुरक्षणको मुल्याङ्कन गराई डिस्ट्रेस मूल्यको ५० प्रतिशतसम्म कर्जा सीमा स्वीकृत गर्न सकिने व्यवस्था रहेको कर्जा प्रमुख पौडेलले बताए । 

कर्जा सीमा स्वीकृत गर्दा ग्राहकको विगतको कर्जा कारोबार, धितो सुरक्षणको मूल्य, भविष्यमा हुने आम्दानीको अनुमान लगायतका आधारमा कर्जा सीमा निर्धारण गरिन्छ ।

कति छ ब्याजदर ?
 
यस प्रकारको कर्जामा पनि जोखिम भार बढी नै पर्ने हुनाले कर्जाको ब्याजदर तुलनात्मक रूपमा बढी हुन्छ । हाल यस बैंकबाट प्रवाह गरिने यस प्रकारको कर्जाको ब्याजदर बैंकको आधारदरमा ३ प्रतिशतसम्म प्रिमियम थप गरी कायम गरिन्छ । 

हालको आधार दर अनुसार यस्तो कर्जाको वार्षिक व्याजदर ७.२५ प्रतिशत रहेको छ । 

व्यापारिक क्षेत्रमा भएको घरजग्गा धितो राखी कर्जा लिन चाहने व्यक्तिहरुको लागि यो कर्जा सुविधा निकै उपयोगी हुने कर्जा प्रमुख पौडेलको जिकिर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ