arrow

ट्राफिक उल्लंघनमा जरिबानामात्र बढाउने कि अरु कारबाही पनि गर्ने ?

काठमाडौँमै दैनिक दुई हजार भन्दा बढी चालक ट्राफिक कारबाहीमा पर्दै, जोड राजस्व सङ्कलनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
valley-traffic-office.jpg
तस्बिर : फाइल

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने क्रम तीव्र रूपले बढेको छ । एक हप्ताको मात्र तथ्याङ्क केलाउने हो भने दैनिक दुई हजार भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । 

उक्त कारबाहीमा सबैखाले नियमको उल्लंघन गरेको पाइएको छ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन २७ अन्य सवारी नियम पालना नगरेका एक हजार ७०० जनालाई कारबाही गरिएको हो ।

यो तथ्याङ्क हेर्दा काठमाडौँमा त यो अवस्था छ भने अन्य स्थानमा के अवस्था होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । 

सडक बढेको छैन । सवारी बढेको बढ्यै छन् । कार्यालय समयमा जता पनि जाम हुन्छ । मुख्य चोकहरूमा जुनसुकै बेलामा जामको समस्या छ । वैकल्पिक व्यवस्था नहुँदा समयको पाबन्दीका कारण सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेकै हुन्छन् । 

अर्कातर्फ कानूनी कारबाही थोरै भयो । पटक पटक पक्राउ गर्दै राजस्व जुटाउँदै छाड्दै गर्ने हो भने पैसा हुनेहरू पैसाको खोलो बगाउँछन् तर विधिको शासनको धज्जी उडाउँछन् । 

जरिबाना बढाउने तयारी, अरु कारबाही खोइ ?

पछिल्लो समयमा आएर ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिबाना बढाउनु पर्ने प्रस्ताव अगाडि बढाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेश काफ्लेले संघीय संसद्को पूर्वाधार विकास समितिमा जरिबाना बढाउनु पर्ने प्रस्ताव गरेका हुन् । 

उनले जरिबाना पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म गर्नुपर्नेमा जोड दिएका छन् । उनको तर्क छ कि ट्राफिक नियम उल्लंघन गर्दा ५०० रुपैयाँ जरिबाना तिर्दा पुग्ने र एक घण्टा कक्षामा बसे पुग्छ भन्ने मानसिकता देखिएकाले जरिबाना धेरै लगाउनु पर्नेमा जोड दिएका हुन् । 

यो लागू होला वा नहोला अर्कै कुरा । तर जरिबाना गर्दैमा मात्र पनि पुग्छ त रु मादक पदार्थ सेवन गरेर सवारी चलाउन हुँदैन भनेपछि हुँदैन । त्यसमा खाइस् कि फाइन तिर्छस् हैन खाइस् कि जेल गइस् हुनुपर्यो । 

व्यवसायीहरू कानून जतिसक्यो खुकुलो हुनुपर्यो भन्छन् । सवारी चालकहरू पनि जतिसक्यो कम जरिबानामा जोड दिन्छन् । तर अकालमै ज्यान गइरहेका दैनिकका घटनामा कसैलाई चासो छैन । 

कुनै पनि काम गलत हो भनेपछि गलतै हो । गलत काम गर्नै हुँदैन । गलत गरे पैसा तिरेर हैन जेलै पठाएरमात्र सुध्रिन्छ । 

पछिल्लो साताको कारबाहीलाई नै हेरौँ । न त मापसे रोकिएको छ । न त लापसे । न गति नै रोकिएको छ । यतिसम्म पनि रोक्न सकिँदैन भने जरिबाना मात्र लिएर पुगेन । 

एउटा मापसे बसको चालकको हातमा थुप्रै यात्रुको ज्यान जोखिममा हुन्छ । एउटा तीव्र गतिमा गुडेको बसको चालकले मोबाइल उठाउँदा त्यत्तिकै संख्यामा रहेका यात्रुको ज्यान जोखिममा हुन्छ । 

अब यसलाई रोक्ने भनेको पक्कै पनि कडा कानून बनाएरै हो । राजस्व बढाउने उद्धेश्यले मात्र जरिबाना बढाएर हैन । 

अर्कातर्फ दुई पाङ्ग्रे सवारी साधन सबैभन्दा जोखिमपूर्ण हुन्छ । धेरैजसो तिनै दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न के को आपत्ति रु राज्यले बनाउने कानून जनताको सुरक्षाका खातिर हुनुपर्छ । 

गति तीव्र हुने हुँदा न त जरिबाना न त एक घण्टा क्लासमात्र सवारी नै नियन्त्रण गरेर लामो समय राखिदिने गर्ने अनि सो अनुसार कार्बाही पनि हुनुपर्छ । 

त्यसो त सडकमा हिँड्ने बटुवाका पनि नियम हुनुपर्छ । गलत हिँडाइका कारण दुर्घटनामा पर्ने अनि त्यसको बोझ सवारी साधन चलाउने चालकलाई बोकाइनु हुँदैन । 

गल्ती गर्नेले सजाय पाउनु पर्छ । बटुवाका कारण पनि धेरै नै सवारी दुर्घटना भएको हुन्छ । 

यस्ता छन् ट्राफिक नियमको नयाँ मस्यौदा प्रस्तावका केही कारबाहीका बुँदाहरूः

१ चालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाएमा वा एक वर्गको सवारीसाधनको अनुमति प्राप्त गरी अनुमति प्राप्त नगरेको अर्को वर्गको सवारीसाधन चलाएमा, लेन अनुशासन पालना नगरी सवारी चलाएमा वा लेन परिवर्तन गरेमा, फुटपाथमा सवारीसाधन चलाएमा, एकतर्फी सडकमा सवारी चलाएमा वा मोबाइल फोन प्रयोग गरी सवारीसाधन चलाएमा १० हजार रुपैयाँ ।

२ ट्राफिक संकेत पालना नगरेमा तीन हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म ।

३ निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपैयाँ । 

४ ऐन बमोजिम साथमा राख्नुपर्ने कागजात साथमा नराखी सवारीसाधन चलाएमा एक हजार रुपैयाँ, तर त्यस्तो कागजात विद्युतीय पोर्टलबाट देखाउन सकेको अवस्थामा जरिबाना गरिने छैन ।

५ चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाएमा दुईपांग्रे वा तीनपांग्रे सवारीसाधनका हकमा २५ हजार रुपैयाँ, साना सवारीसाधनको हकमा ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ ।

६ निषेधित क्षेत्र र समयमा सवारीसाधन चलाएमा एक हजार रुपैयाँ ।

७ ढोका खुला राखी सवारीसाधन चलाएमा पाँच हजार रुपैयाँ ।

८ अवस्था ठीक नभएको सवारीसाधन चलाएमा पाँच हजार रुपैयाँ ।

९ सार्वजनिक सवारीसाधनले तोकिएको सिट क्षमतासम्मको यात्री लिन इन्कार गरेमा दुई हजार रुपैयाँ ।

१०  मिटर ट्याक्सीले मिटरमा जान नमानेमा तीन हजार रुपैयाँ । 

११ सार्वजनिक सवारीमा भाडादरको सूची नराखेमा वा निर्धारण गरिएकोभन्दा बढी भाडा लिएमा दुई हजारदेखि १० हजार रुपैयाँसम्म जरिबानाको प्रस्ताव गरिएको । इत्यादि ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ