होल्डिङ सेन्टर खाली गराउन लागिएको भन्दै माइतीघरमा सुकुमवासीको प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
408
Shares
काठमाडौँ । होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुमवासीहरूले शुक्रवार काठमाडौँको माईतीघरमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुमवासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा यो प्रदर्शन गरिएको हो।
गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुमवासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार नयाँ सूचना जारी गर्दै आगामी असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ।
प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर विस्थापित गरेपनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाए। सुकुमवासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको कार्य स्वीकार्य नहुने चेतावनी दिँदै उनले सुकुमवासी, भूमिहीन र गरिब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप समेत लगाए। खतिवडाले सुकुमवासीहरूको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरोकारको विषय भएको उल्लेख गर्दै मध्यमवर्ग, बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गरे।
उनले सुकुमवासी बस्तीमाथि डोजर लगाएर होल्डिङ सेन्टरमा लगिएको र अहिले वैकल्पिक व्यवस्था नगरिकन त्यहाँबाट पनि विस्थापन गर्न सूचना जारी गरिएकाले त्यसको विरुद्धमा सशक्त संघर्ष र खबरदारी गर्न आएको बताए। सरकारले गरिब भूमिहीनमाथि डोजर लगाउँदा पनि यहाँका मध्यमवर्ग, बुद्धिजिवी, पत्रकार र राजनीतिक पार्टीहरू नबोलेको भन्दै उनले समाजका हरेक वर्गलाई यस विषयमा सचेत गराउन सडकमा ओर्लनुपरेको प्रस्ट पारे। यो देश गरिब र निमुखा नागरिकले नै बनाएको उल्लेख गर्दै उनले काठमाडौँमा सुकुमवासी नभए महलमा बसेर भाषण गर्ने अवस्था नहुने धारणा राखे।
प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारविरुद्धका विभिन्न नाराहरू लेखिएका प्लेकार्डहरू समेत बोकेका थिए।