स्पेन समूह विजेता बन्दै विश्वकपको ‘नकआउट’ मा, बाहिरियो उरुग्वे
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
462
Shares
काठमाडौँ । स्पेन समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह एचको अन्तिम खेलमा आज उरुग्वेमाथि १–० को जित हासिल गर्दै स्पेन समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो ।
स्पेनका लागि खेलको ४२ औँ मिनेटमा एलेक्स बाएनाले गोल गरे । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका हुन् ।
खेलको इन्जुरी समयको अन्तिम घडीमा स्पेनका अगस्टिन कानोबिओ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
उरुग्वे खेलमा निकै कमजोर देखिएको थियो । उसले मात्र ३३ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सकेको थियो ।
गोलका लागि एउटामात्र प्रहार गरेको थियो । त्यो पनि विफल भएको थियो । स्पेनले भने एउटै गोलको प्रहारमा गोल गर्न सफल भएको हो ।
यो विश्वकपमा पनि कमजोर सावित भएको उरुग्वेले अन्य खेलमा केप भर्डे र साउदी अरेबियासँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
स्पेन ७ अंकसहित समूह विजेता बन्दै अन्तिम ३२ मा पुग्यो भने केप भर्डे ३ अंकसहित उपविजेता हुँदै अन्तिम ३२ मा पुगेको छ ।
केप भर्डे पहिलो सहभागितामै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो ।
समूह एचका खेलमा अपराजित रहँदै केप भर्डे नकआउट चरणमा पुग्न सफल भएको हो ।
केप भर्डेले आज समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो ।
खेलमा ५१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल केप भर्डेले यसअघिका खेलमा समेत स्पेन र उरुग्वेसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
केप भर्डेले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।
केप भर्डे ३ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेर कीर्तिमान रचेको हो ।
समान २ अंकका उरुग्वे र साउदी अरेबिया बाहिरिएका छन् ।