नेपालको निष्क्रिय पूँजीलाई लगानीमा रूपान्तरण गर्न अमेरिकी क्रस रिभर बैंकको पहल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
287
Shares
काठमाडौँ। अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग थप प्रभावकारी रूपमा जोड्ने उद्देश्यसहित उच्चस्तरीय छलफल शुरू गरेको छ।
नेपाल भ्रमणमा रहेका बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार काठमाडौंस्थित होटल म्यारियटमा नेपालका प्रमुख वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदूतहरूसँग अन्तरक्रिया गरेका हुन्।
अमेरिकन च्याम्बर अफ कमर्श (एमच्याम) नेपाल र क्रस रिभर बैंकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विश्वका संस्थागत लगानीकर्तालाई नेपालतर्फ आकर्षित गर्न आवश्यक वित्तीय वातावरण, लगानी संरचना र पूर्वाधार निर्माणका विषयमा केन्द्रित छलफल भएको थियो।
छलफलमा सहभागीहरूले नेपालमा पूँजीको अभाव नभए पनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने वित्तीय संयन्त्रको कमी रहेको धारणा व्यक्त गरे।
नेपालसँग करिब २३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको, बैंकिङ प्रणालीमा खरबौँ रुपैयाँ निक्षेप रहेको तथा सञ्चय कोष, पेन्सन कोष र बीमा कम्पनीहरूसँग १३ अर्ब अमेरिकी डलरभन्दा बढी बराबरको पूँजी न्यून प्रतिफल दिने मुद्दती निक्षेपमा रहेको उल्लेख गर्दै सहभागीहरूले यति ठूलो वित्तीय स्रोत हुँदाहुँदै पनि अपेक्षाअनुसार प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न नसकिएको बताए।
अपेक्षाभन्दा निकै कम विदेशी लगानी
प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा प्रतिबद्ध विदेशी लगानीमध्ये करिब ३९ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको छ। गत वर्षको विदेशी लगानी प्रवाह पनि नेपालको सम्भावना अनुसार निकै न्यून रहेको निष्कर्ष कार्यक्रममा प्रस्तुत गरिएको थियो।
अन्तरक्रिया चाथम हाउस नियमअन्तर्गत सञ्चालन गरिएको थियो, जसअनुसार छलफलका विषय सार्वजनिक गर्न मिल्ने भए पनि कुनै वक्ताको नाम उद्धृत गर्न पाइँदैन।
छलफलको नेतृत्व न्यूयोर्कस्थित क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल तथा बैंकका हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलले गरेका थिए।
उनीहरूले नेपालसँग विश्व वित्तीय प्रणालीसँग नयाँ ढङ्गले जोडिने ऐतिहासिक अवसर रहेको र आवश्यक वित्तीय पूर्वाधार तथा पूँजी परिचालन संयन्त्र निर्माणमा क्रस रिभर बैंक दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको बताए।
सहभागीहरूको साझा निष्कर्ष थियो-नेपालको समस्या पूँजीको अभाव होइन, बरु पूँजीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, जोखिमको उचित मूल्य निर्धारण गर्ने, लगानीकर्तालाई निकास सुनिश्चित गर्ने तथा दीर्घकालीन लगानी आकर्षित गर्ने वित्तीय प्रणालीको अभाव हो।
नेपालमा अझै पनि बचतपत्र बजार, जोखिममा आधारित मूल्य निर्धारण प्रणाली तथा अन्तर्राष्ट्रिय लगानीकर्ताले अपेक्षा गर्ने पूँजी बजारका आधारभूत संरचना पर्याप्त रूपमा विकास हुन नसकेको उनीहरूको धारणा थियो।
ऊर्जा क्षेत्रः सबैभन्दा ठूलो अवसर
छलफलमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई सबैभन्दा ठूलो लगानी सम्भावनाको क्षेत्रका रूपमा औँल्याइएको थियो।
विश्व अहिले तीव्र विद्युतीकरण र कृत्रिम बुद्धिमत्तामा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेका बेला अमेरिका, युरोप र अष्ट्रेलियाका विभिन्न क्षेत्रमा नयाँ डाटा सेन्टर स्थापना गर्न आवश्यक विद्युत् जडानका लागि वर्षौँसम्म कुर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सहभागीहरूले नेपाल भने विद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै अतिरिक्त ऊर्जा उत्पादन गर्ने मुलुकका रूपमा अघि बढिरहेको बताए।
यद्यपि ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न अझै चुनौती रहेको उनीहरूको भनाइ थियो।
सहभागी ऊर्जा विकासकर्ताहरूका अनुसार नेपाल सरकारले जलविद्युत् आयोजनामा १७ प्रतिशत इक्विटी आन्तरिक प्रतिफल (आईआरआर) को सीमा निर्धारण गरेको छ, जसले विदेशी लगानीकर्ताका लागि अमेरिकी डलरमा करिब ११ प्रतिशत मात्रै प्रतिफल सुनिश्चित गर्छ।
त्यसमाथि नेपाली रुपैयाँको अमेरिकी डलरसँगको निरन्तर अवमूल्यनले वास्तविक प्रतिफल अझ घट्ने भएकाले अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताका लागि जोखिमअनुसारको प्रतिफल पर्याप्त आकर्षक बन्न नसकेको धारणा व्यक्त गरिएको थियो।
छलफलमा एउटै जलविद्युत् आयोजना मात्रै होइन, परियोजनाहरूलाई समग्र रूपमा कसरी विश्वस्तरीय लगानीकर्ताका लागि थप आकर्षक र प्रतिस्पर्धी बनाउने भन्ने विषयमा समेत गहन बहस भएको थियो।
सहभागीहरूले शुक्रबारको अन्तरक्रियालाई नेपालमा उपलब्ध वित्तीय स्रोतलाई प्रभावकारी लगानीमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय पूँजी आकर्षित गर्ने नयाँ रणनीतिक पहलको सुरुवातका रूपमा व्याख्या गरेका छन्।