दुई दिन बिदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा चुनौती [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
230
Shares
काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतमा कार्यदिन हप्तामा पाँच दिन कायम गरिएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन्।
कार्यदिन कटौतीसँगै मुद्दा व्यवस्थापनमा जटिलता थपिएको उल्लेख गर्दै उनले त्यसलाई सन्तुलित बनाउन अदालतले विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए।
उनले थुनुवाका मुद्दा, सार्वजनिक हितका रिट (पीआईएल) तथा मानाचामलजस्ता शीघ्र किनारा लगाउनुपर्ने अग्राधिकार प्राप्त मुद्दाको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गरे।
मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एसोसिएसन, महान्यायाधिवक्ताको कार्यालय र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उनले बताए।
अत्यधिक कार्यबोझ र सीमित समयका कारण अदालत चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने अवस्थासँग तुलना गरे।
उनले भने, ‘अग्राधिकार प्राप्त मुद्दाका सम्बन्धमा वास्तवमै यहाँले सही कुरा उठाउनुभयो। हामी यस विषयमा उत्तिकै चिन्तित छौँ। थुनुवाको मुद्दा प्राथमिकता दिनुपर्ने मुद्दा हो। सार्वजनिक हितको रिट पनि उत्तिकै जरुरी छ। त्यसैगरी, खान-लाउन नपाएको मान्छेको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण छ। अब कुनलाई प्राथमिकता दिने? अहिले फेरि छ दिनबाट पाँच दिन भएपछि हाम्रो कार्यतालिका नै बिग्रिएजस्तो स्थिति भइरहेको छ। त्यसकारण हाम्रो मुद्दा व्यवस्थापन समितिमा छलफल गरेर, बारसँग समन्वय गरेर, महान्यायाधिवक्तासँग पनि छलफल गरी सम्माननीयज्यू स्वयं बसेर नियमित रूपमा छलफल भइरहेको हुन्छ। उखानै छ नि, ‘छोटो लुगा माथि टाउकोतिर छोप्दा तल देखिने, तल छोप्दा माथि देखिने।’ अहिले हाम्रो अवस्था पनि त्यस्तै भइरहेको हो। हाम्रो कार्यबोझ धेरै छ। त्यसलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सकियो भने समस्या नहोला। तर अदालतले अग्राधिकार प्राप्त मुद्दालाई कसरी प्राथमिकता दिने, पुराना मुद्दा कसरी छिटो फस्र्योट गर्ने भन्ने विषयमा यहाँहरू जत्तिकै हामी पनि चिन्तित छौँ।’
न्यायाधीश पौडेलले अदालत पुराना मुद्दाको छिटो फर्स्योट र अग्राधिकार प्राप्त मुद्दाको समयमै टुंगो लगाउन प्रतिबद्ध रहेको बताए।
उनले सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दा सत्यता, तथ्यपरकता र जिम्मेवारीमा विशेष ध्यान दिन पनि आग्रह गरे।
उनले भने, ‘यथार्थ समाचार यहाँले जति लेख्नुभयो, त्यति राम्रो हुन्छ। निर्ममतापूर्वक लेख्नुस्, तर हचुवाका भरमा ‘उसले लेख्यो, मैले पनि लेखौँ’ भन्ने शैलीमा नलेखिदिनुहोस्।’