विद्याले भनिन्- निर्वाचनको परिणामका आधारमा जबज र कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष ननिकालौँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
215
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छिन्।
आइतबार काठमाडौँमा आयोजित जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्। उनले कुनै एक निर्वाचनको तत्कालीन परिणामलाई हेरेर कम्युनिष्ट आन्दोलन वा जबजको भविष्यबारे हतारमा नकारात्मक निष्कर्ष निकाल्न नहुने जिकिर गरिन्।
नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएर विचार विमर्श गराउनु समयसापेक्ष र सह्रानीय कार्य भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले यसले आन्दोलनको ऐतिहासिक समीक्षा र वर्तमान चुनौतीबारे साझा सोच निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
भण्डारीले सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू पतन भएको तत्कालीन कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले नेपालको यथार्थअनुसार ‘जनताको बहुदलीय जनवाद’को मौलिक अवधारणा अघि सारेको स्मरण गरिन्। "त्यो अवधारणा तत्कालीन सङ्कटको उत्तर मात्र थिएन, नेपालको आफ्नै वस्तुगत यथार्थबाट विकसित भएको मौलिक वैचारिक प्रस्ताव थियो," उनले भनिन्। जबजले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक आधारमा स्थापित गर्दै बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनमार्फत समाजवादी रूपान्तरण सम्भव छ भन्ने मान्यता स्थापित गरेको उनले स्पष्ट पारिन्।
हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, "कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।"
उनले बदलिँदो पुस्ता, डिजिटल युग, प्रविधिको तीव्र विकास र युवाका नयाँ आकाङ्क्षाहरूलाई सम्बोधन गर्न कम्युनिष्ट आन्दोलनले आफ्नो नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन्। मदन भण्डारीले विगतमै भनेको "रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो" भन्ने निष्कर्ष आज झन् बढी सान्दर्भिक महसुस भएको उनले उल्लेख गरिन्। गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय आत्मनिर्भरता जस्ता जनताका आधारभूत विषयमा व्यावहारिक नीति विकास गर्न सके मात्रै कम्युनिष्ट आन्दोलन थप सुदृढ र लोकप्रिय बन्ने उनको भनाइ थियो।
संविधान संशोधनको चर्चाबारे बोल्दै उनले संविधानलाई समयको मागअनुसार परिमार्जन गर्न सकिने भए पनि यसका मूलभूत मूल्य, मान्यता र अन्तरवस्तुलाई कमजोर पार्ने गरी संशोधन गर्न नहुने स्पष्ट पारिन्। साथै, राजनीतिक वृत्तमा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणाली नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि उपयुक्त नहुने धारणा समेत उनले व्यक्त गरिन्।