क्यानाडाले रच्यो इतिहास, पहिलो पटक विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
512
Shares
काठमाडौँ । सहआयोजक क्यानाडा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको छ । आज बिहान सम्पन्न पहिलो नकआउट चरणको खेलमा दक्षिण अफ्रिकामाथि १–० को जित हासिल गर्दै क्यानाडा अन्तिम १६ मा पुग्न सफल भएको हो ।
क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित ९० मिनेटसम्म गोल हुन नसकेको खेलको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन अस्टाकुओले गरेको गोल नै क्यानाडालाई इतिहास रच्न पर्याप्त भयो ।
खेलमा ५९ प्रतिशत बल दक्षिण अफ्रिकाको नियन्त्रणमा भए पनि गोल भने क्यानाडाले गर्न सफल भयो ।
क्यानाडाले गोलका लागि सात ओटा आक्रमण गरेको भए पनि एउटामा सफलता हासिल गरेको हो । दक्षिण अफ्रिकाले भने एउटामात्र प्रहार गरेको थियो ।
नकआउट चरणको दोस्रो खेलमा आज राति ब्रजिल र जापान खेल्नेछन् । खेल राति पौने ११ बजे शुरू हुनेछ ।