arrow

विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
egypt-fiafa-worldcup.jpg

काठमाडौँ । इतिहासमै पहिलोपटक ४८ टोलीको सहभागितामा क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरण रोमाञ्चक प्रतिस्पर्धा र थुप्रै नयाँ कीर्तिमानका साथ सम्पन्न भएको छ। प्रतियोगिताको समूह चरणमा खेलिएका कुल ७२ खेलहरू हेर्न ४५ लाख ४४ हजार ५४९ दर्शक रङ्गशाला पुगेका थिए भने खेल अवधिभर करिब तीन लाख हटडग बिक्री भएको फिफाले जनाएको छ। 

समूह चरणमा सहभागी १ हजार २४८ खेलाडीमध्ये अब ३२ टोली नकआउट चरणमा प्रवेश गरेका छन्, जसमा युरोपबाट १२, अफ्रिकाबाट ९, दक्षिण अमेरिकाबाट ५, उत्तर तथा मध्य अमेरिकाबाट ३, एसियाबाट २ र ओसिनियाबाट १ टोली रहेका छन्। यस संस्करणमा अफ्रिकी टोलीहरूले ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक नौवटा राष्ट्रलाई नकआउट चरणमा पुर्‍याउन सफल भएका छन्। 

त्यस्तै बोस्निया एन्ड हर्जगोभिना, केप भर्डे, क्यानडा, डीआर कङ्गो, कोट डिभ्वार, इजिप्ट र दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने भाग्य जुराएका छन्। यसपटक समूह चरणमा कुल २१५ गोल भए, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो र प्रतिखेल औसत तीन गोलको रेकर्ड कायम भयो। फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले समान १०–१० गोल गर्दै समूह चरणमा सर्वाधिक गोल गर्ने टोलीको सूचीमा आफूलाई उभ्याएका छन्।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ इतिहास रचेका छन्। उनले विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या १९ पुर्‍याएका छन् भने ३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा लेखेका छन्। 

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्‍याउँदै महान् खेलाडी युसेबियोलाई पछि पारेर पोर्चुगलका लागि सर्वाधिक विश्वकप गोलकर्ताको कीर्तिमान बनाएका छन्। यता इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि विश्वकपमा ११ गोल पुर्‍याउँदै ग्यारी लिनेकरको कीर्तिमान तोडेर इंग्ल्यान्डका तर्फबाट सर्वाधिक विश्वकप गोल गर्ने खेलाडी बनेका छन्।

क्यानडाले कतारलाई ५–० ले पराजित गर्दै विश्वकप इतिहासमा एकै खेलमा चारभन्दा बढी गोल गर्ने पहिलो कन्काकाफ टोली बन्ने गौरव प्राप्त गर्‍यो। अमेरिकाले पनि पाराग्वेमाथि ४–१ को जित निकाल्दै विश्वकपमा पहिलोपटक एकै खेलमा चार गोल गर्ने कीर्तिमान बनायो। 

मेक्सिकोले लगातार चार विश्वकप खेल जित्ने पहिलो कन्काकाफ राष्ट्रको कीर्तिमान बनाएको छ भने सेनेगल विश्वकपको एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ। यसैबीच जापानले ट्युनिसियालाई ४–० ले हराएको खेल विश्वकप इतिहासको एक हजारौँ खेल बन्न सफल भयो। फिफाका अनुसार खेलाडी, प्रशिक्षक र टोलीहरूले बनाएका यी दर्जनौँ नयाँ कीर्तिमानहरूले विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा ठुलो, भव्य र स्मरणीय संस्करण बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ