सांसदहरूलाई ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
325
Shares
तस्बिर – रासस र नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
अभिमुखीकरण सोमबार र मंगलबार सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभा हलमा भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन भएको चार महिना पूरा हुन लाग्दा संसद सचिवालयले बल्ल अभिमुखीकरण कार्यक्रम राखेको हो ।
सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले सोमबार बिहान १० देखि अपराह्न ४ बजेसम्म र असार १६ गते मंगलबार बिहान ११ देखि दिउँसो ३ः३० सम्म सञ्चालन हुने जानकारी दिए ।
यता सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्नो भूमिका र व्यवहार प्रस्तुत गर्न निर्देशन दिएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले लाखौँ नागरिकको मतबाट निर्वाचित प्रतिनिधि भएकाले सांसदहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए।
उनले सांसदहरूबीच राम्रो कानून निर्माण, अनुशासित व्यवहार र प्रभावकारी प्रस्तुतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति असन्तुष्टि जनाउँदै आगामी कार्यक्रमहरूमा पूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरे।