मन्दिर निर्माणमा भ्रष्टाचार, अधिकृत र उपाध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
126
Shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम अन्तर्गत बझाङको छविसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल, सबइन्जिनियर बमबहादुर बोहरा, तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडाअध्यक्ष मोहनलाल विक तथा मन्दिर निर्माण समितिका पदाधिकारीहरू सहित नौ जनाविरुद्ध आरोपपत्र दर्ता गरेको हो।
आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजन भएको ४५ लाख रुपैयाँ बजेटको आधारमा निर्माण कार्यको आर्थिक र प्रशासनिक जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो। कुल ५६ लाख सात हजार ८९७ रुपैयाँको स्वीकृत लागत अनुमान रहेको उक्त आयोजनामा उपभोक्ता समितिले बेहोर्नुपर्ने ११ लाख सात हजार ८९७ रुपैयाँ जनसहभागिता र कन्टिन्जेन्सीतर्फको रकम कट्टा गरी वास्तविक रूपमा कामै नगरी नक्कली कागजात खडा गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ।
अरोपीहरूले निर्माण स्थलमा भएको वास्तविक कार्यभन्दा बढी काम देखाउने, अस्वाभाविक दर रेट कायम गर्ने र सम्झौता विपरीत नक्कली बिल भरपाई बनाई सरकारी ढुकुटीबाट २२ लाख एक हजार ६६५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ। आयोगले भ्रष्टाचारमा संलग्न कर्मचारी, जनप्रतिनिधि र निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा तथा कोषाध्यक्ष मधुलीदेवी बुढा सबैलाई समान २२ लाख एक हजार ६६५ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कडा कैद सजाय र बिगो असुलउपरको मागदाबी सहित विशेष अदालतमा मुद्दा अघि बढाएको छ।