arrow

खुम्चिएको डीडीसी आक्रामक ब्रान्डिङको तयारीमा, साउनदेखि बजारमा बोतलको मोही आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
ddc-logo.jpg

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको लामो इतिहास बोकेको संस्था भए पनि बजारिकरणको अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित गति लिन सकिरहेको छैन।

काठमाडौँ दुग्ध वितरण आयोजना बालाजुका प्रमुख चक्रवर्ती पौडेलले डीडीसीले आफ्नो गुणस्तरमा आम उपभोक्ताको विश्वास आर्जन गरे पनि व्यावसायिक विज्ञापन र ब्रान्डिङमा पछि परेको स्वीकार गरे। बजारमा देखिएको खुला दूधको दबदबा र बढ्दो मागलाई सम्बोधन गर्न संस्थानले अब परम्परागत शैली त्यागेर आधुनिक बजारीकरण र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए।

संस्थानले लामो समयदेखि कुनै पनि औपचारिक विज्ञापन वा मार्केटिङ अभियान सञ्चालन नगरेकाले उपभोक्ताको मनमा रहेको विश्वास स्वतःस्फूर्त रूपमा मात्र टिकेको हो। तर, पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र साहले सामाजिक सञ्जालमा डीडीसीको याक चिज खाएको फोटो पोस्ट गरेपछि आउटलेटहरूमा यसको बिक्री झन्डै दोब्बर बढेको छ।

यस घटनाबाट संस्थानले ब्रान्डिङको शक्ति प्रत्यक्ष रूपमा अनुभव गरेको छ। हालै आएका नयाँ महाप्रबन्धकले पनि विज्ञापन तथा बजार विस्तारलाई प्राथमिकतामा राखेकाले केन्द्रीय कार्यालयले बजेट छुट्याएर होर्डिङ बोर्ड राख्ने र प्रचारात्मक अभियान सञ्चालन गर्ने तयारी गरिरहेको पौडेलले जानकारी दिए।

अहिले डीडीसीका लागि बजारमा सबैभन्दा ठूलो चुनौती खुला रूपमा प्लास्टिकमा रबरले बाँधेर बिक्री गरिने दूध र दुग्धजन्य पदार्थबाट थपिएको छ। करिब एक दशकअघि प्याकेज्ड दूधको बजारमा डीडीसीको हिस्सा करिब ४० प्रतिशत रहेको अनुमान गरिएकामा हालैको एक सम्मेलनको तथ्याङ्कअनुसार त्यो घटेर २० प्रतिशत हाराहारीमा झरेको छ भने करिब ६० प्रतिशत बजार खुला दूधले ओगटेको देखिएको छ। उपभोक्ताले मूल्यका आधारमा खुला दूध रोजे पनि त्यसको गुणस्तर र सुरक्षा मापदण्डबारे पर्याप्त निगरानी आवश्यक रहेको पौडेलको धारणा छ।

पछिल्लो समय स्वास्थ्यप्रति बढ्दो सचेतनाका कारण बजारमा डीडीसीको मोहीको माग अत्यधिक बढेको छ। सीमित उत्पादन क्षमता र जनशक्तिका कारण मागअनुसार मोही उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै संस्थानले यसैलाई मध्यनजर गरी आगामी साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका बोतलमा मोही बजारमा ल्याउने तयारी पूरा गरेको छ। यस आधुनिक प्याकेजिङले नयाँ पुस्ताका उपभोक्तालाई आकर्षित गर्ने विश्वास संस्थानको छ।

डीडीसीले बजार विस्तारका लागि सरकारसँग नीतिगत सहयोगको पनि अपेक्षा गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल र क्यान्टिनहरूमा आवश्यक दुग्धजन्य पदार्थ डीडीसीबाटै खरिद गर्ने व्यवस्था गरिएमा संस्थानले स्थायी बजार पाउने र किसानको दूध सहजै खपत हुने पौडेलले बताए।

किसानको भुक्तानीमा पनि सुधार भइरहेको जानकारी दिँदै उनले काठमाडौँ दुग्ध वितरण आयोजनाअन्तर्गतका सहकारीहरूको फागुनसम्मको भुक्तानी भइसकेको र अब चैत, वैशाख र जेठको मात्र बाँकी रहेको स्पष्ट पारे। विगतका आर्थिक सङ्कट र पुराना उपकरणका बाबजुद डीडीसी अहिले विस्तारै नाफा र सुधारको दिशामा अघि बढिरहेको संस्थानको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ