एमाले सांसद बरालले भने- सम्पत्ति शुद्धीकरण विधेयक हतारमा र पर्याप्त तयारीबिनै ल्याइयो
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
124
Shares
काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण विधेयक पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा 'सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३' माथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
सांसद बरालले संसद्मा विधेयकका कमजोरीहरू औँल्याउँदै प्रस्तावमा कतै महान्यायाधिवक्ताको सिफारिस भनिएको त कतै तीन महले (संशोधन तालिका) मा त्यसलाई हटाइएको उदाहरण दिए। उनले २०६४ सालदेखि कार्यान्वयनमा रहेको यस ऐनका पुराना अनुभव र सिकाइका आधारमा विधेयकलाई परिमार्जित र समृद्ध बनाएर ल्याउनुपर्नेमा सरकारले तथ्यहरूको तोडमोड गरी हतारोमा मस्यौदा पेस गरेको आरोप लगाए।
देशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने सङ्कल्पका साथ एमाले सम्पत्ति शुद्धीकरण नियन्त्रणको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पार्दै उनले हतारमा विधेयक ल्याउने र तथ्यगत त्रुटि गर्ने कार्य गलत भएको बताए। सांसद बरालले यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै विधेयकमा रहेका कमजोरी र त्रुटिहरू तत्काल सच्याउन सरकारसँग माग गरे।