arrow

जेन-जी आन्दोलनमा भागेका कैदी १० महिनापछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
pakrau9.jpg

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका-५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार परियारविरुद्ध मोटरसाइकल चोरी मुद्दामा मकवानपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा शुरूमा एक लाख रुपैयाँ धरौटी माग गरिएको थियो।

धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार कार्यालय भीमफेदी चलान भएका थिए।

पछि २०८२ पुस १४ गते अदालतबाट भएको अन्तिम फैसलाअनुसार परियारलाई एक वर्ष तीन महिनाको कैद सजाय सुनाइएको थियो। उनी सजाय भुक्तान गरिरहेका बेला जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

फरार प्रतिवादीको खोजी अभियान तीव्र बनाएको प्रहरीले विशेष सूचनाका आधारमा हेटौँडा बसपार्क क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका परियारलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आन्दोलनका क्रममा फरार भएका व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको बताए।

उनका अनुसार कानूनी कारबाहीबाट बच्न लुकीछिपी बसेका फरार व्यक्तिहरूलाई एक-एक गरेर पक्राउ गर्ने अभियानलाई प्रहरीले थप प्रभावकारी बनाएको छ।

प्रहरीले अदालतबाट सजाय तोकिएका तथा फरार रहेका प्रतिवादीलाई कानूनी दायरामा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको पनि जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ